• १२ वैशाख २०८१, बुधबार

हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

blog

कवि विमला तुम्खेवाका कवितामा जीवनको सूक्ष्म अनुभूति विधिवत्भन्दा अनायास प्रकट भएको पाइन्छ । उनका सतचालीस थान कविताहरूको सँगालो ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’भित्रका कविताले जीवन भोगाइका कैयौँ विशिष्ट अनुभूतिहरूलाई आकर्षक शैलीमा सामान्यीकरण गरिदिएका छन् । कविता लेख्नु भनेको जीवनका हरेक टुक्रालाई ऐनामा हेर्न लालायित हुनुजस्तै रहेछ । छर्लङ्ग हेर्ने चाहना र धमिलो मात्र देखिनुबीचको अनुभूति नै तुम्खेवाका कविताको प्रस्तुत र अप्रस्तुत भाव सौन्दर्य हो । 

नारीस्वर मुखर छ, यस कृतिमा तर सबैले भन्दै आएका भन्दा फरक गरी पितृसत्ताको भन्दा पनि पुँजीबजारका अतिसयोक्तिहरूलाई उदाङ्गो पारेका छन् उनका कविताले; मानवीय संवेदनालाई अर्थ दिएका छन् उनका चेतनाहरूको यस वैश्विक प्रकाशनले । जेठी सुब्बेनीको चरित्र र स्वभावलाई चित्रकारले जस्तै उभ्याउने तुम्खेवाले जीवनको सम्पूर्णतालाई यही एउटा कवितामै सर्लक्क उतारेकी छन् । उनले चयन गरेका शब्दहरूको तरलताले कविताको स्वाद मौलिक बनेको छ । उनका कविताको शक्ति भनेकै पाठकलाई विदितबाट अविदितको सौन्दर्यमा पु¥याउनु हो । 

श्रमका योगले नथाकेको शरीरकथामा रोगले थलिनु जीवन शास्त्रको अन्तिम अध्याय हो र यसपछि गीतको अस्तित्व सुरु हुन्छ, चाहे त्यो वियोगान्त होस् वा संयोगान्त ! हाम्रा संस्कार गीतका प्रतिध्वनिमा तिनै धाननाचको झल्को फुल्ने सुगरले गालेका आँखाभित्रका आँसुको आभा टल्किएको हुन्छ । किराँत आइमाई अर्थात् प्रकृतिकी देवी सनातन जीवन बाँच्दाबाँच्दै आएको आगन्तुक रोगलाई देशमा पसेको परदेशीलाई झैँ झर्को मान्छिन् किनकि त्यो परदेशी पाहुना होइन, उनको शरीरको अस्तित्व समाप्त पार्न आएको लुटेरा हो । 

कवि तुम्खेवाले यसरी नै पालो, संसारका तानाशाहलाई खुलापत्र, मेरो कथाको पनि कविता लेख्नु है, सहरको यौटा बदनाम कथा, छोरी, साडी, अनागरिक, सच्याऊ यो इतिहास, खेल, सेतो गुलाफको फूल, अन्तिम भेट, अठोट, जोसँग सम्बन्धित छ, जीवन पुतली खेलजस्तो हुन्न, अस्तित्व, सम्बोधनको एउटा सवाल, त्रासदी, नेपालको नक्सामा किनिमाको तिहुनजस्ता सत्र थान कवितामा नारी विषयका पीडादायी कथ्यमा विद्रोहको नयाँ ढाँचा संयोजन गरेकी छन् । उनका कविताले शरीरभन्दा मानस अस्तित्वको प्रश्न उठाएको छ । यसरी नै तुम्खेवाका पात्रहरू कवितामा केही विशेष खोजमा रहेका भेटिन्छन् । भोक र विसङ्गतिका कविताबाट देशको नक्सा फेरिन नसकेकाप्रति उनका कवितामा विद्रोह छ । 

प्रस्तुतिको यो मौलिकता विमलाका कवितामा निकै ठाउँमा भेटिन्छन् । उनका कवितामा देश र माटोको चिन्तनमा जनताका विशिष्ट स्वरूप र संस्कृति सँगसँगै आएका छन् । किनिमा र अकबरे खुर्सानीको आदिवासी स्वाद देशको राष्ट्रियताभित्रै छ । नेपाल भन्ने देशको नक्सामा आदिवासी  स्पर्श गरेको छ उनको बुढीऔँलाले । ठाउँ कुठाउँ ल्याप्चे ठोक्ने यही औँलामा देशको अस्तित्व र आयतन देख्नु निकै ठूलो विद्रोह र व्यङ्ग्य हो । तुम्खेवा इतिहास सच्याउन कविताले हत्केलामा पृथ्वी उठाएर नेतृत्वको सामु उभिएकी कवि–योद्धा हुन् । र, फरक यति छ योद्धाहरू तरबार लिन्छन्, उनी कलम ।

मैनजस्तै पग्लेर सकिने जीवनमा उज्यालोजस्तो सम्झना पनि मिसिएको हुन्छ । कविले प्रेमलाई कविताभन्दा निकै माथिल्लो स्थान दिएकी छन् । प्रेमले लेखिएका कविता सुन्दर हुने भाव प्रकट गरेर उनले आफ्नो कवि व्यक्तित्वको अर्थ स्थापित गरेकी छन् । वास्तवमा कवि मानिनु कविताको सामथ्र्य हो । कविका नामबाट कविता चिनिनुमा भन्दा कविताको शीर्षकबाट चिनिएका कविको खोजी छ उनका कवितामा । विमला तुम्खेवाको कवि प्रेमपथको सहयात्री हुन चाहन्छ; प्रतिरोधको धुनमार्फत सहभावको सन्देश दिन चाहन्छ । 

कृति : हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

विधा : कविता सङ्ग्रह

कवयत्री: विमला तुम्खेवा

प्रकाशक : साङ्ग्रिला बुक्स 

पृष्ठ : ८४

मूल्य : रु. २५०।–

Author

गीता त्रिपाठी