• १४ मंसिर २०८१, शुक्रबार

‘ट्रान्स फ्याट’ खाना स्वास्थ्यका लागि हानिकारक

blog

काठमाडौँ, वैशाख ७ गते । औद्योगिक ट्रान्स फ्याट भएका खाना स्वास्थ्यका लागि हानिकारक रहेको र ती खानामा ट्रान्स फ्याटको मात्रा निर्धारित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको औद्योगिक ट्रान्स फ्याटसम्बन्धी कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । विभागका महानिर्देशक डा मतिना जोशी वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा बालकुमारी शर्माले औद्योगिक ट्रान्स फ्याटसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

औद्योगिक ट्रान्स फ्याट भएका खानाहरू वनस्पति घिउ, मार्गारिन, केक, बिस्कुट, पटक पटक एउटै तेलमा तारेका खानकुरा आदि रहेका छन् । त्यसले स्वास्थ्यमा पार्ने असरका बारेमा उहाँले प्रस्ट पार्नुभएका थियो । अन्तर्राष्ट्रिय क्षेत्रमा भएका औद्योगिक ट्रान्स फ्याटको नियमनसम्बन्धी कार्यहरू, डब्लुएचओको सन् २०२३ सम्म संसारभरबाट औद्योगिक ट्रान्स फ्याटको सीमा निर्धारण गर्नेसम्बन्धी नीति, नेपाल सरकारको नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ मा ट्रान्स फ्याट सीमित गर्ने नीति ग्रहण गर्ने, औद्योगिक प्रव्रिmयाबाट उत्पादित खानेकुरामा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा तल तथा विभागले तयार गरेको खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको सीमा निर्धारणको प्रस्तावित मस्यौदाका बारेमा उहाँले प्रस्तुति दिनुभयो । 

सोही कार्यक्रममा त्यसैगरी नेपाल हृदय रोग निवारण प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यले औद्योगिक ट्रान्स फ्याटले स्वास्थ्यमा पर्ने असरका बारेमा जानकारी गराउँदै त्यस्ता खानेकुरा खान नहुने धारणा राख्नुभयो । 

भारतले अवलम्बन गरेको औद्योगिक ट्रान्स फ्याटसम्बन्धी नियमन प्रव्रिmयाका बारेमा जानकारी गराउँदै भारतबाट आउनुभएका डा प्रबोध हल्देले नेपालले अब औद्योगिक ट्रान्स फ्याट नियमन तथा कार्यान्वयनका लागि गर्ने सक्ने कार्य, औद्योगिक ट्रान्स फ्याट हटाउँदा आइपर्ने प्राविधिक समस्याका समाधानका उपायका बारेमा जानकारी गराउनुभएको थियो । भारतका तेल तथा घिउ उद्योगहरूले औद्योगिक ट्रान्स फ्याट कार्यान्वयनसम्बन्धी गरेका कार्यका बारेमा प्रस्तुति दिनुभयो । 

कार्यक्रममा उपभोक्तावादी संस्था, तेल घिउ उद्योगी, बेकरी तथा बिस्कुट उत्पादक तथा अन्य सरोकारवालाले सरकारले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको सीमा निर्धारण गर्नु स्वागतयोग्य रहेको धारणा राख्दै तर त्यसका लागि सरकारले निजी क्षेत्रलाई पैरवी तथा सचेतना गर्न आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले औद्योगिक ट्रान्स फ्याट खानेकुराको नियमन र जनचेतना अभिवृद्धि दुवै आवश्यक रहेको बताउनुभयो ।