• २७ पुस २०८१, शनिबार

‘अर्थतन्त्रको अवस्था फेर्ने गरी नयाँ बजेट’

blog

काठमाडौँ, जेठ ७ गते । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशीलता प्रवर्धन गर्ने दिशामा केन्द्रित हुने बताउनुभएको छ । मुलुकको अर्थतन्त्रको अवस्था र आगामी बजेटका सन्दर्भमा संसद्को अर्थ समितिले आयोजना गरेको छलफलमा मन्त्री महतले पुँजीगत खर्चको वर्तमान पद्धति परिवर्तन गर्ने पनि बताउनुभएको छ ।

समिति सदस्य सन्तोष चालिसेको सभापतित्वमा सम्पन्न बैठकमा अर्थतन्त्रको वर्तमान अवस्था के हो र सरकारको आगामी कार्यदिशा कस्तो रहन्छ भन्ने सन्दर्भका प्रश्न राख्नुभएको थियो । सदस्यहरूको जिज्ञासा सम्बोधन गर्दै मन्त्री महतले अर्थतन्त्रको समस्या मुलुकको उत्पादन क्षेत्रको शिथिलतासँग बढी जोडिएको भन्दै स्वदेशी उत्पादन प्रवर्धन र रोजगारी सिर्जनामा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । 

मुलुकमा विद्यमान उद्योगमा पनि ‘भ्यालु एडिसन’ कम रहेको भन्दै उहाँले यसलाई अझै बढाउनुपर्ने उल्लेख गर्नुभयो । “नेपाली उद्योग व्यवसायलाई प्रवर्धन गर्ने दिशामा आगामी बजेट आउँछ,” उहाँले भन्नुभयो, “यसका लागि हाम्रा प्रणालीभित्र रहेका समस्यालाई धेकेलेरै बाहिर फ्याँक्नुपर्ने छ ।” पुँजीगत खर्च कम भएको भन्ने जिज्ञासामा मन्त्री महतले कर्मचारीतन्त्रमा पनि समस्या रहेको बताउनुभयो । 

“बजेट आएको नौ महिनापछि स्रोत रिलिज गर्दिनुप-यो, अब हामी ठेक्का लगाउँछौँ भनेर आउँछन् । त्यसलाई मैले रोकिदिएको छु,” 

उहाँले प्रश्न गर्नुभयो, “नौ महिनासम्म के गरेर बसेको ? अब बजेटपछि लगत्तै काम गर्ने गरी गृहकार्य भइरहेको छ । यी कुरा यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौँ । यो भयो भने हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढ्छ ।”

दलगत तथा व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्ने दाबी गर्दै मन्त्री महतले अर्थतन्त्रको सुधार तथा बजेटको प्रभावकारी कार्यान्वयनका लागि अन्य सरोकारवालाको पनि साथ दिनुपर्ने उहाँको भनाइ थियो । 

राजस्व सङ्कलनमा आएको सङ्कुचनलाई मन्त्रालयले मिहिन ढङ्गले हेरिरहेको उल्लेख गर्दै उहाँले कमजोरी देखिएका विषयवस्तु तथा क्षेत्रमा सुधार गरिने उल्लेख गर्नुभयो । वैदेशिक ऋण मुलुकका लागि र अर्थतन्त्रका लागि हितकारी भए÷नभएको समीक्षा हुन जरुरी रहेको उहाँको भनाइ थियो । “राजस्व विस्तार, ऋण व्यवस्थापनजस्ता कुरा आजको भोलि भइहाल्दैनन्, गर्दै जान्छौँ र खर्च गर्ने क्षमता पनि देखाउनु आवश्यक छ,” उहाँले भन्नुभयो । 

बजेट निर्माणका क्रममा  कुनै व्यक्ति वा व्यापारिक घरानाको लाभ नहेरिने उहाँले स्पष्ट पार्नुभयो । अर्थतन्त्रका यावत् समस्या तत्काल समाधान भइनहाल्ने भन्दै क्रमिक रूपमा सुधार हुने उल्लेख गर्नुभयो । प्रणालीमा देखिएका समस्या एकै पटक समाप्त हुँदैनन्, व्रmमिक रूपमा एक/एक गरी पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो,” उहाँले भन्नुभयो, “इमानदार र समर्पणका साथ काम गर्दै जानुपर्छ, यसमा सबैको सहयोग चाहिन्छ ।”

मन्त्रालयका अर्थ सचिव तथा राजस्व सचिवसहित समितिमा पुग्नुभएका मन्त्री महतले समय अभावले बजेटमाथि सबै सदस्यको रायसुझाव तथा जिज्ञासा सुन्न नपाएपछि समितिका सदस्यले आइतबार समितिमा लिखित सुझाव पेस गर्ने गरी निर्णय भएको छ । समितिका सचिव रेखा उपाध्यायले आइतबार प्राप्त हुने रायसुझावलाई एकीकृत गरेर सोमबार अर्थमन्त्रीसमक्ष पेस गरिने जानकारी दिुनभयो ।

बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा महतलाई प्रश्न गर्नुभएको थियो ।