• १२ जेठ २०८१, शनिबार

नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ : मन्त्री ज्वाला

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला ।

काठमाडौं, जेठ ६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताउनुभएको छ । शनिबार समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री ज्वालाले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताउनु भयो । उहाँले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रुपमा समर्थन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले गठबन्धन सरकारको न्यूनतम साँझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताउनुभयो । उहाँले पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।

‘‘यो गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर लाग्नका लागि हाम्रो तर्फबाट प्रयत्न भएको छ । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ, त्यसमा पनि केही जनपक्षीय कार्यक्रमहरु प्रस्तुत गरेका छौँ । जनतालाई सम्बोधन हुने खालका नीतिहरु हामीले सम्बोधन गरेका छौँ । यो नीति कार्यक्रमलाई बजेटले पूर्ण गर्नेछ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘यसको ग्राउण्ड भनेको गठबन्धन सरकारको न्यूनतम साँझा कार्यक्रम हो । नीति कार्यक्रमलाई केन्द्रित बनाएर बजेट ल्याउने तयारीमा छौँ । बजेटले पछिल्ला समस्यालाई समाधान गर्नेगरी आर्थिक समस्या, अन्य समस्याहरुलाई समाधान गर्नेगरी अर्थतन्त्रमा नयाँ मोड ल्याउने र अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्ने र भ्रष्टाचारका काण्डहरु आएका छन्, त्यसको छानबिन गर्ने र कुनै राजनीतिक आग्रह, पूर्वाग्रह बिना दोषी नछुट्ने, निर्दोष नफस्ने गरी अघि बढेका छौँ ।’’

मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको बताउनुभयो ।