• २२ असार २०८१, शनिबार

मोरङमा गाईवस्तु ओसारपसारमा रोक

blog

हरि कोइराला
उर्लाबारी, जेठ ६ गते ।
उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाईवस्तु ओसारपसारमा रोक लगाएको छ । नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो ।

नगरका प्रवक्ता भुम सूर्यमगरले नगर कार्यपालिकाको जेठ ४ गते बसेको बैठकले गाईवस्तु ओसारपसारमा रोक लगाएको बताउनुभयो । नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक लेखनाथ भट्टराईका अनुसार नगरभित्र ३५ वटा गाईको लम्पी स्किनका कारण मृत्यु भइसकेको छ ।

भट्टराईले भन्नुभयो, ‘‘रोग लागेका २१ दिन भित्रमा पशुको मृत्यु भइसक्छ । रोगथामका लागि जेठ ५ गतेदेखि चार जना पशु प्राविधिक परिचालन गरी भ्याक्सिन लगाउन थालेका छौं ।’’

लेटाङ –५ का भक्तबहादुर श्रेष्ठको लैनो गाई मरेपछि गाउँमा क्रम गाई मर्न सुरु भएको हो । त्यसपछि लगातार सोही गाउँमा उपेन्द्र खड्का, सीता कार्कीको गाई मरे । अहिले वडा मात्रै होइन पूरै नगरमा महामारीको रुपमा रोग फैलिएको छ ।

पशु प्राविधिक भट्टराईले समयमा नै रोग नियन्त्रण नभए पशुपालक किसानले ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने बताउनुभयो ।