ललिता साह
बोदेबरसाइन (सप्तरी), जेठ ६ गते । सप्तरीको एउटा मन्दिरमा तीनवटै सरकारको बजेट विनियोजन भएपछि खर्च गर्ने व्रmममा विवाद उत्पन्न भएको छ।
बलानविहुल गाउँपालिका–४ मा गत आर्थिक वर्षमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीको संसदीय कोषको ३० लाखभन्दा बढी रकमबाट एक मन्दिर निर्माण भएको छ। उक्त मन्दिरमा दुसाध जातिको कुलदेवता सलहेशको मूर्ति स्थापना गर्न भनेर त्यही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह संसदीय विकास कोषबाट चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ छुट्याइएको छ।
स्थानीय सरकार अर्थात् बलान विहुल गाउँपालिकाले आफ्नो सातौँ गाउँ सभाबाट सोही मन्दिरमा मूर्ति स्थापनाकै लागि पनि बजेट विनियोजन गरेको देखिन्छ। यसरी काम गर्न पैसा अपुग भइरहेका बखत प्रदेशको बजेट हुँदाहुँदै वडा सिलिङमा आफूलाई बिनाजानकारी बजेट छुट्याई पारित गर्नु गाउँपालिकाको गल्ती भएको वडा नं. ४ का अध्यक्ष लक्ष्मीनारायण झाले भन्नुभयो।
यता सप्तरी क्षेत्र नं. ४ बाट तेस्रो पटक प्रतिनिधि सभा क्षेत्रमा निर्वाचित तेजुलाल चौधरीले ठूलो बजेट खर्च र निर्माण गरेको सो मन्दिरमा मूर्ति स्थापनाको हक र दायित्व आफ्ने भएको दाबी गर्नुभयो। त्यसै अनुसार चालु आर्थिक वर्षमा उहाँको संसदीय विकास कोषको रकम सरकारले कट्टा गरे पनि त्यहाँका नागरिकलाई आउने वर्षमा बेहोर्ने गरी समुदायमा चन्दा लगाएर मन्दिरमा मूर्ति स्थापना गर्न तत्काल ५० हजार रुपियाँ नगदसमेत दिएको जानकारी दिनुभयो।
व्यक्तिगत स्वार्थका लागि प्रदेश सभा सदस्यले काममा भाँजो हाल्ने काम भइरहेको प्रतिनिधि सभा सदस्य चौधरीले बताउनुभयो। प्रदेश सभा सदस्य सिंहले प्रदेश सभाबाट छुट्याइएको पाँच लाख खर्चिन स्थानीय समेतको जानकारीबेगर घरमै बोलाएर उपभोक्ता समिति बनाएर उक्त काम गर्न निर्देशन दिइसकेकाले विवाद सतहमा आएको छ।
सांसद चौधरीको निर्देशनमा स्थानीयले थप चन्दा सङ्कलन गरेर मूर्ति निर्माणको जिम्मा कालिगडलाई दिइसकेको वडाध्यक्ष झाले जानकारी दिनुभयो। उपभोक्ता समितिले जबरजस्ती काम गर्न लागेपछि (समुदाय र उपभोक्ता समितिका) दुई पक्षबीच विवाद भएर बारम्बार झगडा हुँदै कुटपिटसमेत भएको छ।
काममा भाँजो हालेको जिल्ला प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयो। विकासको कामलाई पार्टीगत इगो बनाएर गर्न खोजेकाले एक सातादेखि यो विवाद प्रहरीको टाउको दुखाइको विषय बनेको उहाँले बताउनुभयो।
उक्त मूर्ति स्थापना गर्न आफ्नो बजेट विनियोजन भइरहँदा पनि प्रदेश सदस्य सिंहको निर्देशनमा गाउँपालिकाले प्रदेशकै बजेटबाट मूर्ति स्थापना हुनुपर्छ भनेर स्वीकृतिका लागि पत्राचार गरिसकेकाले विवाद झन् बल्झिएको हो। गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले जसलाई स्वीकृति दिन्छु उसले मात्रै गर्न पाउने बताउनुभयो।
शिक्षा, स्वास्थ्यलगायतको विकास बेहाल अवस्था भइरहँदा तीनै तहको सरकारको धेरै बजेट जिल्लाभरि मन्दिर र मूर्ति स्थापनामा मात्रै खर्च हुनु दुर्भाग्य भएको युवा अभियन्ता राजनारायण साहले बताउनुभयो।