• १२ पुस २०८१, शुक्रबार

अतिक्रमणबाट जोगियो नोचा पोखरी

blog

लक्ष्मी चौधरी 

जनकपुरधाम, जेठ ६ गते । जनकपुरधाम उपमहानगरपालिकाले नियमित निगरानी गर्न थालेपछि नोचा पोखरी अतिक्रमण हुनबाट जोगिएको छ। जनकपुरधाम–२०, रुपैठामा र १५ को रामपुर सिमानामा रहेको नोचा पोखरी सौन्दर्यीकरण कार्यमा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नियमित निगरानी गर्नुभएपछि अतिक्रमण हुनबाट जोगिएको हो। 

पोखरीको डिलमा रोपिएको बोटबिरुवालाई जोगाउन र पोखरीको सैन्दर्यीकरणमा पोखरीको क्षेत्रफलबाहिर पर्खाल लगाएपछि अतिक्रमणबाट जोगिनुका साथै पोखरीको क्षेत्रफल बढेको छ। हालै प्राविधिक टोलीसहित पोखरीमा भइरहेको भौतिक निर्माण निरीक्षण गर्न पुगेका प्रमुख साहले नोचा पोखरी आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको उल्लेख गर्नुभयो। 

यस क्षेत्रकै नमुना पर्यटकीय स्थलका रूपमा चिनाउन लागेको उहाँको भनाइ छ। साह भन्नुहुन्छ, “पोखरीको सौन्दर्यीकरणमा उपमहानगरको आर्थिक लगानी नभए पनि यसको रेखदेख गर्ने जिम्मेवारी मेरो पनि हो।” 

यहाँ बिहान शारीरिक व्यायामका लागि वरपरका बासिन्दा आउने गर्छन्। यस्तो पोखरी जनकपुरधाममा अर्को छैन। यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो। उहाँले पोखरीका लागि उपमहानगरपालिकाले डिपिआर तयार गरी आगामी आर्थिक वर्षमा पाँच लाख रुपियाँ बजेट विनियोजनसमेत गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो।

अतिक्रमण भएर जनकपुरधामका धेरै पोखरीको क्षेत्रफल घटेको छ। नोचा पोखरीको वरिपरि थप जग्गा अधिग्रहण गरेपछि क्षेत्रफल बढेको नगर प्रमुख साहको दाबी छ। २४ वर्षपहिले आएको नापी अनुसार ११ बिघाभन्दा बढी क्षेत्रफल निकालिएको थियो। अहिले नापी गर्दा पनि त्योभन्दा बढी हुन्छ तर घटेको भने छैन। दीर्घकालीन योजना अनुरूप पोखरीको सौन्दर्यीकरणमा आफू लागेको नगर प्रमुख साहको भनाइ छ। 

जनकपुरधाम जटही व्यापारिक मार्गभन्दा तीन सय मिटरपूर्व र रामपुर बौहरवा परिक्रमा सडकभन्दा तीन मिटर पश्चिमस्थित उक्त पोखरीवरिपरि विभिन्न जातका बोटबिरुवा पनि छन्। यहाँ घाट निर्माण भएका छन् भने पर्यटकका लागि शौचालय, पोखरीको डिलमा बस्ने व्यवस्था र पिउने पानीका लागि चापाकलको व्यवस्थासमेत गरिएको छ। 

सहरी विकास मन्त्रालयको विनियोजित बजेटमार्फत पहिलो चरणमा तीन करोडको लागतमा घाट निर्माण भएको थियो। दोस्रो चरणको करिब दुई करोड बजेटबाट पोखरीको पर्खाल, गेटलगायतका पूर्वाधार निर्माण भइरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ, धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिनुभयो।