• २७ पुस २०८१, शनिबार

मुडे–चरीकोट सडकखण्ड : आठ वर्षमा बल्ल कालोपत्रे सुरु

blog

दोलखा समाचारदाता

दोलखा, जेठ ६ गते । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गतको करिब ३० किलोमिटर मुडे–चरीकोट सडकखण्ड कालोपत्रे सुरु भएको छ। 

दुई वर्षमा नै निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा मुढे–चरीकोटसम्म २७ किलोमिटर सडक सकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको थियो। निर्माण कम्पनीले सम्झौताबमोजिम काम नगरेपछि पटक पटक समय थप गरिँदै आएको थियो। 

विभिन्न क्षेत्रको दबाबपछि २०७७ सालमा निर्माण कम्पनीले चरीकोट र खरिढुङ्गा दुवैतर्फबाट काम थालनी गरी कात्तिक मसान्तसम्म कम्तीमा १५ किलोमिटर कालोपत्रे गर्ने, एक हप्ताभित्र यी स्थानमा बिग्रिएका सडक मर्मत गरी यातायात सुचारु राख्ने र निर्माणमा आवश्यक सबै स्रोत साधन उच्चतम प्रयोग गरी निर्माणलाई गति दिने सहमति गरेको थियो। 

यसबिचमा पनि कालोपत्रे सुरु गर्दै छोड्दै गरेको कम्पनीले चैत महिनादेखि फेरि काम सुरु गरेको हो। यसअघि गरिएको कालोपत्रे ठाउँ ठाउँमा खाडल बनिसकेको छ। कालोपत्रे गर्ने काम पूरा नहँुदै सडक भत्किएको स्थानीय भुवन केसीले बताउनुभयो। 

ठेकेदार कम्पनीले विभिन्न बहाना बनाई निर्माण सम्पन्न नगर्दा चरीकोटदेखि राजधानी काठमाडौँ जोड्ने एक मात्र यो सडकखण्ड अस्तव्यस्त बनेको छ। यो सडकमा हिउँदमा धुलो उडाउँदै र वर्षामा हिलोमा डुब्दै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन्।

निर्माण कम्पनीलाई समयमा नै काम गर्न पटक पटक ताकिता गर्दा पनि काम नगरेको र बेवास्ता गरेको भन्दै लामोसाँघु–जिरी आयोजनाले १० प्रतिशत जरिवाना लिँदै आएको छ। निर्माण कम्पनीले काम समयमा सम्पन्न नगरेका कारण करिब १० करोड रुपियाँ जरिवाना लागिसकेको आयोजनाले जनाएको छ।

चरीकोटलाई काठमाडौँ जोड्ने एक मात्र यो सडक निर्माण कम्पनीले अलपत्र पारेका कारण जटिल प्रकारका बिरामी हेलिकोप्टर चार्टर गरी उपचार गर्न काठमाडौँ लानुपर्ने बाध्यता रहेको छ। दोलखा जिल्लामा आइसियूसहितको अस्पताल नभएको र जटिल रोगी, गर्भवती तथा सुत्केरीलाई बाटोकै कारण हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको छ। हेलिकप्टर चार्टर गर्न नकक्ने सामान्य परिवारका बिरामीको ज्यानसमेत जाने गरेको छ।