• ५ जेठ २०८१, शनिबार

केही दिन अझै वर्षा हुने

blog

काठमाडौं, जेठ ५ गते । अझै केही दिन वर्षाको क्रम जारी रहने भएको छ । पश्चिमी वायु, स्थानीय वायुसँगै पूर्वी वायुको चहलपहल बढेकाले वर्षाको क्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबारसम्म वर्षाको घनत्व कायम रहने छ । सोमबारदेखि हल्का सुधार हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सो अवधिमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । एक साताअघि विकसित वर्षाको प्रणालीका क्रममा स्थानीय वायुको विकास थप बलियो बनेकाले वर्षा लम्बिएको श्रेष्ठले जानकारी दिनुभयो । लम्बिएको वर्षाले मनसुनका लागि वातावरण बनाउँदै गएको अनुमान महाशाखाले गरेको छ ।

उहाँले भन्नुभयो, “अहिले पूर्वबाट तल्लो वायुमण्डलको मार्गबाटै जलवाष्प आइरहेको छ, यसले अब मनसुनका लागि नेपालमा वातावरण बनाइरहेको छ ।” मनसुन भित्रिनका लागि पूर्वीय वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्छ ।