• ८ वैशाख २०८१, शनिबार

मल खरिदका लागि भारत सरकारसँग सम्झौता भइसक्यो : प्रधानमन्त्री

blog

प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताउनुभएको हो ।

उहाँले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिनुभयो । सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन, रासायनिक मलमा अनुदान दिनुकोसाथै भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु । यस वर्ष समयमै मल, बीउ उपलब्ध गराउन मैले बेलैमा कृषि मन्त्रालय लगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको छु । र कृषि मन्त्रालयबाट यस सम्बन्धी कार्य अगाडि बढी पनि सकेको छ । यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरूको हितलाई अनि उत्पादन र रोजगारी सृष्टिको कुरालाई उच्च प्राथमिकता दिइने कुरा पनि म जानकारी गराउन चाहन्छु ।’’

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरूको हितलाई उच्च प्राथमिकता दिइने स्पष्ट पार्नुभयो । त्यस्तै उत्पादन र रोजगारी सृष्टिको कुरालाई पनि उच्च प्राथमिकता दिइने उहाँको भनाइ छ ।