चित्र मिजार
सिन्धुपाल्चोक, जेठ ४ गते । दुई वर्षअघि हेलम्बुको भेमाथाङ पहाड सोरिएर आएको भीषण बाढीले मेलम्ची नदीको पक्की पुल बगाएपछि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । यो स्थानमा ह्युम पाइप राखेर सवारीसाधन वारपार गरिन्छ तर नदीमा पानी बढेपछि सबै आवतजावत रोक्नुपर्ने बाध्यता छ ।
उक्त स्थानमा पक्की पुल वा बेलिब्रिज निर्माण गर्ने भनिए पनि अझै हुन सकेको छैन । सडक डिभिजन कार्यालय चरीकोटले मेलम्चीमा बेलिब्रिज निर्माणका लागि पहल गरिरहेको जनाएको छ । यसका लागि दुई करोड रुपियाँ लाग्ने सो कार्यालयको अनुमान छ । अर्थ मन्त्रालयले भने ४० लाख रुपियाँ मात्रै विनियोजन गरेको छ ।
उक्त बजेटमा बेलिब्रिज निर्माणका लागि गत पुसमा टेन्डर खुलाइएको थियो तर सो सूचनामा एउटा पनि टेन्डर फाराम दर्ता भएन । फाराम दर्ता नभएपछि बेलिब्रिज निर्माण गर्ने काम अगाडि बढ्न सकेन ।
वर्षाअघि नै बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय चरीकोटले टेन्डर खुलाई तदारुकता देखाएको सो कार्यालयका प्रमुख अर्जुन सुवालले जानकारी दिनुभयो । टेन्डरका लागि अर्थ मन्त्रालयले भने सहमति दिएको छैन । मन्त्रालयले सहमति नदिएका कारण वर्षाअघि मेलम्चीमा बेलिब्रिज निर्माण हुन असम्भव देखिएको छ । वर्षा लाग्न सुरु हुँनै लाग्दा जोखिम मोलेर टेन्डर गर्ने कि नगर्ने भन्नेमा मन्त्रालयलाई निर्णय लिन कठिन भइरहेको छ । तत्काल पक्की पुल बन्ने सम्भावना नभएपछि सडक डिभिजन कार्यालयले बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने रणनीति बनाएको थियो । मेलम्चीमा पुलको आवश्यकता बढी भएको र बजेट पनि कम भएकाले बेलिब्रिज अवधारणा ल्याइएको हो ।
सडक विभागले भविष्यमा आउन सक्ने बाढी पहिरोको पूर्वानुमान नगरी मेलम्ची नदीलगायतका कुनै पनि स्थानमा पक्की पुल निर्माणमा प्राविधिक समस्या हुने बताउँदै आएको छ । बाढीको अवस्था हेर्ने भन्दै पक्की पुलको डिजाइनसमेत गरिएको छैन । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ का सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वर्षायामअघि जसरी पनि मेलम्चीमा बेलिब्रिज राखिने बताउँदै आउनुभएको छ ।
वि.सं. २०७८ असार १ गते हेलम्बुको भेमाथाङ पहाड सोरिएर आएपछि हेलम्बु, मेलम्ची क्षेत्रका आधा दर्जन पक्की पुल र एक दर्जन झोलुङ्गे पुल बगाएको थियो । बाढीले बगाएको हेलम्बुको रातोपुलमा बेलिब्रिज हालिसकिएको छ ।
यो स्थानमा पुल नबन्दा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिका, इन्द्रावती गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकाका बासिन्दालाई प्रत्यक्ष असर परिरहेको छ । बाढीले पुल बगाएपछि अहिलेसम्म ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिँदै आएको छ । नदीको बहाव बढ्दा आउजाउ बन्द हुने गरेको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अर्थ मन्त्रालयले तत्काल टेन्डर खुलाउन सहमति दिनुपर्ने र वर्षा लाग्नुअघि नै मेलम्चीमा बेलिब्रिज निर्माण हुनुपर्ने बताउनुभयो ।