• २ पुस २०८२, बुधबार

किबी खेतीको आकर्षण बढ्दो

blog

गोरखाको सिरानचोक गाउँपालिका-२ का किसान राजु गुरुङको बारीमा लटरम्म फलेको किबी । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, पुस २ गते । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । परम्परागत कृषि प्रणालीबाट अपेक्षित आम्दानी नहुँदा वैकल्पिक तथा नगदेबालीको खोजीमा रहेका किसानहरु अहिले केबी खेतीतर्फ उन्मुख हुन थालेका छन् । 

अनुकुल हावापानी, उचित बजार मुल्य र तुलनात्माक रुपमा राम्रो आम्दाीका कारण सिरानचोकमा किबी खेती लोकप्रिय बन्दै गएको हो । 

गाउँपालिका भित्रका अधिकांश किसानहरुको किबी खेतीबाट आर्यआर्जनको भरपर्दो आधार बन्दै गएको छ । परम्परागत खेतीबाट सीमित आम्दानी गर्दै आएका यहाँका किसानहरु पछिल्ला वर्षमा किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । 

गोरखा सिरानचोक–२ का किबी किसान राजु गुरुङले किबी बिक्री गरेर आफ्नो घरपरिवार सहज रुपमा धान्दै आउनुभएको छ । उहाँका अनुसार सुरुमा २ रोपनीमा क्षेत्रफलमा परीक्षणका रुपमा लगाईएको किबी खेती अहिले ५ रोपनी क्षेत्रफलमा लगाएर आम्दानीको मुख्य स्रोत बनेको छ ।

"किबीले राम्रो बजारपाएसँगै मेहेनत अनुसार राम्रो आम्दानी भएको छ", किबी किसान राजु गुरुङले भन्नुभयो, "हाल उत्पादन भएको किबी बिक्री गरेर परिवारको खर्च चलाउँदै आउनुभएका गुरुङले आगमी दिनमा खेतीको क्षेत्र विस्तार गर्ने योजना समेत छ ।"

सोही वडाका अर्का किबी किसान सोमबहादुर गुरुङले पनि किबी खेतीबाट बार्षिक १ लाख पचास हजार रुपियाँ आम्दानी गर्ने गरेको बताउनुभयो । "अन्य बालीको तुलनमा किबी खेती फाइदा जनक देखियो", सोम गुरुङले भन्नुभयो, "अहिले गोरखामा बजारको माग बढ्दै गएकाले झण्डै ४ क्विन्टल पहिलो ग्रेडको किबी ३५० रुपैयाँ किलोमा बिक्री भइसकेको छ।"

पछिल्लाे समय गोरखा जिल्लामा किबी खेती व्यावसायिक रुपमा विस्तार हुँदै गएको कृषि ज्ञानकेन्द्र गोरखाका आर्थिक विज्ञ सुमन भट्टराइको भनाइ छ । गोरखामा किबीलाई चाहिने हावापानी अनुकूल भएकाले गोरखामा किबी खेतीको राम्रो सम्भाबना रहेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । 

गोरखामा किसानहरुलाई प्रविधि, तालिम र बजारसँग जोडन सकियो भने किबी खेतीले जिल्लाको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सक्छ अर्थविज्ञ भट्टराईले बताउनुभयाे । 

किबी खेतीले सिरानचोकका किसानहरुलाई आत्मनिर्भर बनाउँदै लगेको छ भने ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने आधारका रुपमा पनि उभिँदै गएको छ । अहिले गोरखाका तीन वटा पालिका बारपाक सुलिकोट गाउँपालिका, धार्चे गाउँपालिका र सिरानचोक गाउँपालिकामा किबीको व्यावसायिक खेती गरिदै आएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।