जुम्ला समाचारदाता
जुम्ला, जेठ ४ गते । सिँजा गाउँपालिका–१ का शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् । मालिका मावि, धापामा मङ्गलबार आयोजित कार्यक्रममा ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको छ ।
सिँजा गाउँपालिका–१ अन्तर्गत ४७७ घरधुरीका सबै ८६५ बालबालिका विद्यालयको पहुँचमा रहेका छन् । यिनमा मालिका मावि धापामा ७४८, देउराली आधारभूत विद्यालय, डिग्रामा ७० र कुलदेव आधारभूत विद्यालय प्याकुरेवाडामा ४७ जना विद्यार्थी रहेका छन् ।
सिँजा गाउँपालिकाद्वारा आयोजित घोषणा कार्यक्रममा गाउँपालिका महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बालबालिकालाई विद्यालयमा झिकाउने, सिकाउने, टिकाउने र बिकाउने सिद्धान्त अनुसार सबैको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले सिँजा क्षेत्रका सवालमा एक भएर उभिन तीनै तहलाई आह्वान गर्नुभयो ।