• १३ वैशाख २०८१, बिहिबार

योजना फस्र्योट, काम अधुरै

blog

राजकुमार भट्टराई  

खोटाङ, जेठ ४ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित पञ्चावतीदेवी प्राथमिक विद्यालयको शौचालय निर्माणको काम सम्पन्न नभई भुक्तानी भएको पाइएको छ । विद्यालयमा शौचालय नहुँदा विद्यार्थी अहिले पनि पाखा भित्तामा शौच गर्न बाध्य छन् तर शौचालय निर्माण सम्पन्न गरेको भनेर विद्यालयले २०७७ सालमै  १५ लाख रुपियाँ भुक्तानी लगिसकेको छ । 

२०७२ सालको भूकम्पले क्षति गरेका विद्यालयका संरचना पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ–शिक्षा कार्यालय २०७४ सालदेखि दिक्तेलमा बसेको थियो । सोही कार्यालयको १५ लाख रुपियाँ बजेटबाट पञ्चावतीदेवी प्रावि बाहुनीडाँडाको शौचालय निर्माण गर्ने गरी १३ असार २०७६ मा सम्झौता भएको देखिन्छ । बाहिर पानीको धारासहित तीन कोठे शौचालय २०७७ असार २१ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौता मिति अनुसार नै काम सम्पन्न गरेको भनेर २०७७ असार ३० मा फस्र्योेट पनि भइसकेको छ ।  

पुनर्निर्माणको जिल्ला आयोजना कार्यान्वयन एकाइ–शिक्षा कार्यालयका प्राविधिक चेतराज सिवाकोटीले अनुगमन गरेर शौचालय निर्माण सम्पन्न भएको मूल्याङ्कन गरेपछि कार्यालयले फस्र्योट गरेर सबै भुक्तानी दिइसकेको छ तर योजना फस्र्योट भएको तीन वर्ष पुग्न लाग्दा पनि शौचालयमा धारा जडान गर्न, बाहिरी भागमा मार्बल लगाउने लगायतका काम बाँकी नै छ । शौचालयको एकातर्फको भाग चर्किएर चिरा चिरा परेको छ । शिक्षकहरू शौच गर्न विद्यालय नजिकै रहेका अभिभावकको घरमा जाने गरेका छन् । विद्यार्थी भने विद्यालय वरिपरिका पाखा भित्तामा शौच गर्न बाध्य छन् ।  

प्राविधिक खर्च र अडिट खर्च भन्दै रकम हिनामिना शौचालय निर्माणको जिम्मा पाएका बेलकुमार राईको अनुसार प्रधानाध्यापक पैसा झिक्न दिक्तेल आउने जाने खर्च कटाएर बाँकी दिने सहमति गरिएको थियो । सुरुका प्रधानाध्यापक वीरेन्द्र थापाले गरेको सहमति अनुसार नै शौचालय निर्माणको काम अघि बढ्यो । शौचालय सम्पन्न हुने समयमा सुरुमा गरिएको मौखिक सम्झौता हालका प्रधानाध्यापक वीरेन्द्र राईले तोडेपछि काम छाडेको बेलकुमारको भनाइ छ । 

प्राविधिक खर्च भन्दै अनुगमनमा गएका सबइन्जिनियर चेतनारायण सिवाकोटीले ४० हजार रुपिायँ लगेको पाइएको छ । प्राविधिक खर्च ४० हजार र लेखापरीषण खर्च २० हजार रुपियाँ लाग्ने भनेर प्रअ राईले ६० हजार रुपियाँ लिएको बेलकुमार बताउनुहुन्छ ।

नेपाल सरकारको तलबसँगै फिल्ड भत्तासमेत लिइरहेका कार्यालयबाट खटिएका प्राविधिकलाई योजनाबाट कुनै पनि रकम दिन आवश्यक छैन् तर सबइन्जिनियर सिवाकोटीले पञ्चावतीदेवी प्राविको शौचालय निर्माण योजनाबाट ४० हजार रुपियाँ बुझेको देखिन्छ । 

यस्तै कुनै पनि योजना त्यसको लागत अनुसारको काम र बिल भर्पाइ अनुसार फस्र्योट हुन्छ तर प्रअ राईले लेखापरीषण गर्नु पर्छ भन्दै २० हजार रुपियाँ सोझै खल्तीमा हालेको आरोप छ । दुई जना प्रअ योजनाको कामका लागि दिक्तेल आउँदा जाँदा ६० हजार रुपियाँभन्दा धेरै रकम खर्च भएको पनि पाइएको छ ।  

सबइन्जिनियर सिवाकोटीले कसैलाई नभन्नु भन्दै ४० हजार लिएर शौचालय बाहिरको भागमा मार्बल लगाउनु पर्दैन भनेकाले नलगाएको निर्माणको जिम्मा लिएका बेलकुमार राईले आरोप लगाउनुभयो ।