• १२ साउन २०८१, शनिबार

गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन : महामन्त्री थापा

blog

काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ ३ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘‘अहिले एउटा प्रकरणको बहस चलिरहेको छ, प्रकरणका बारेमा पार्टीमा बहस भयो, प्रकरणमा पार्टीका नेता मुछिनुभयो । नेता मुछिसकेपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ । अनुसन्धानबाट दोषी ठहरिन्छ भने बकाइदासँग दोषीले सजाय पाउनुपर्छ । यो खालको राष्ट्रविरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुसिन्छ सबैलाई कारबाही हुुनपर्छ । त्यसमा दायाँ बायाँ केही पनि हुनुहुँदैन ।’’

महामन्त्री थापाले अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गर्नुभयो ।

उहाँले कुनैपनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्बनमा पर्ने बताउनुभयो । उहाँले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने बताउनुभयो । उहाँले पार्टीका नेताहरु भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गर्नुभयो ।

‘‘एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतैपनि छ भने अभियोगमा लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ । प्रमाणित भएन भने स्वतः आउँछ । यो आग्रह, पूर्वाग्रह होइन । केही साथीहरुले परम्परा छैन भन्नुभयो, यदी यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन । पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन । अहिले तत्कालै पार्टीले उहाँलाई निलम्बन गरी आफूबाट अलग राख्नुपर्छ । अनुसन्धानमा कतैपनि पार्टी कतै पनि देखिनु हुँदैन । जोसुकैमाथि जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ ।’’

महामन्त्री थापाले लोक रिजाइनको राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताउनुभयो । उहाँले कांग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।