• १२ साउन २०८१, शनिबार

नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ : अध्यक्ष ओली

blog

बुधबार काठमाडौंमा आयोजित ३१ औं मदन–आश्रित स्मृति कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं, जेठ ३ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेताको जायज सपना पुरा गर्नुपर्ने बताउनुभयो। बुधबार काठमाडौंमा आयोजित ३१ औँ मदन–आश्रित स्मृति कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। अध्यक्ष ओलीले भन्नुभयो, “नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ। उत्तराधिकारीले त्यसलाई पुरा गर्नुपर्नेछ। सजिलो छैन, चुनौती छ। तर यी सपना पुरा हुन सम्भव छ।”

उहाँले जेठ ३ सदैव एउटा पीडाको याद आउने बताउनुभयो। “जेठ ३ गते भनेपछि अब एउटा पीडाको दिन। एक प्रकारको सदैव नराम्रो याद आउँछ। देश बनाउने सङ्कल्प बोकेर हिँडेका महान् नेताहरू गुमाएको दिन। हाम्रो पार्टीले मात्र होइन, सही ढङ्गले देशलाई हाँक्न सक्ने वैचारिक, सैद्धान्तिक विविध पक्षबाट नेताहरू गुमाएको दिन। कमरेड महासचिव शङ्कर पोखरेलले थुप्रै विषयहरू राख्नुभइसकेको छ, कसरी उहाँहरूको हत्या भएको थियो”, उहाँले भन्नुभयो।

उहाँले भन्नुभयो, “देशभरिका सम्पूर्ण साथीलाई आग्रह गर्न चाहन्छु यो दिन सङ्कल्प गर्ने। नेताको जायज सपना, देश बनाउने सपना, देशलाई एउटा आधुनिक, सम्पन्न र न्यायोचित देशको रूपमा विकास गर्ने काममा परिणत गर्नुपर्छ।”