• १२ साउन २०८१, शनिबार

कांग्रेस युवा नेताले गरे पार्टी रुपान्तरण अभियानको घोषणा

blog

नेपाली कांग्रेसका युवा नेताको पत्रकार सम्मेलन ।

काठमाडौं, जेठ २ गते। नेपाली कांग्रेसका युवा नेताले नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेता गुरु घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाही लगायतका नेताले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका हुन्। 

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य मधु आचार्यले नेपाली कांग्रेस पार्टी जमुवा पोखरीझैँ भएको बताउनुभयो। उहाँले नेपाली कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रुपान्तरणको सम्भावना नभएको भन्दै आफूहरुले पार्टीको समय सापेक्ष रुपान्तरण गर्ने बताउनुभयो। 

हाल कांग्रेसभित्र गैर कांग्रेसी चरित्रले बास गरेको उहाँले बताउनुभयो। उहाँले कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएको भन्दै आफूहरुले राजनीतिमा नैतिक शक्तिलाई जोड्ने बताउनुभयो। 

उहाँले कांग्रेसको कमी, कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिको उदय भएको बताउनुभयो। कांग्रेस रुपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियानको घोषणा गरिएको उहाँले उल्लेख गर्नुभयो।

अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको छ।