• २७ पुस २०८१, शनिबार

स्वरोजगार बनाउन बिउपुँजी वितरण

blog

छविलाल पाण्डे 

बुटवल, जेठ २ गते । नेपाल दृष्टिविहीन उत्थान सङ्घ सैनामैना रुपन्देहीको आयोजना र लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा रुपन्देहीको गैडहवा गाउँपालिकामा सिबिआर कार्यक्रमअन्तर्गत बिउपुँजी वितरण गरिएको छ ।   

अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले व्यवसाय सञ्चालन सुरुवातका लागि ९ जनालाई बिउपुँजी शीर्षकअन्तर्गत प्रति व्यक्ति १० हजार प्रदान गरिएको छ। यो कार्यक्रम प्रदेशका १२ वटा जिल्लाको १२ पालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा नेपाल अपाङ्गता महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष होमनाथ अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई यो कार्यक्रमअन्तर्गत प्राप्त भएको सहयोगले आर्थिक उपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्राप्त रकम आयआर्जनमा सदुपयोग गर्न आग्रह गर्दै दुरुपयोग भएको अवस्थामा पैसा फिर्ता लिनुपर्ने अवस्था आउन नदिन सबैसँग आग्रह गर्नुभयो ।   

कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयकी अधिकृत कमला पौडेलले लुम्बिनी प्रदेशमा अपाङ्गता भएकाहरूलाई यो कार्यक्रममा समावेश गर्न सके आर्थिक उपार्जनमा जोड्न सकिने बताउनुहुँदै प्रदेश सरकारले लागु गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन लक्षित वर्गको सहभागिता महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । 

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले गत वर्ष पनि अपाङ्गता भएकाहरूलाई लक्षित गरी यही प्रकृतिको सहयोग प्रदान गरेको थियो भने यो वर्ष पनि सिप विकास तालिम तथा शैक्षिक सामग्री वितरण र स्वास्थ्य उपचार सहयोग कार्यक्रम गर्दै आएको छ ।  

नेपाल दृष्टिविहीन सङ्घ रुपन्देहीका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, महिला तथा बालबालिका शाखा प्रमुख शान्ता गिरि लगायतले बोल्नुभएको थियो ।