• २७ पुस २०८१, शनिबार

नर्सिङ्ग कलेज सञ्चालनको अनुमति दिन आग्रह

blog

प्रादेशिक अस्पताल जलेश्वर ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, जेठ २ गते । प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीले अस्पताललाई एक सय शैप्यामा स्तरोन्नति गरी नर्सिङ्ग कलेज सञ्चालनको अनुमति दिन प्रदेश सरकारसँग आग्रह गरेको छ । अस्पतालका प्रमुख डा.मनीषा भारद्वाजले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्नुहुँदै अस्पतालमा एक सय शैयाको संरचना भएको कारणले सोही अनुसारको स्तरोन्नति गरी नर्सिङ्ग कलेज सञ्चालनको अनुमति समेत दिन आग्रह गर्नुभएको हो । 

यस क्षेत्रमा विगतको जनकपुर अञ्चल अस्पतालले नर्सिङ्ग कलेज सञ्चालन गर्दै आएपनि अब सो अस्पताल प्रतिष्ठानमा रूपान्तरित भएको कारण नर्सिङ्ग कलेज बन्द हुने भएपछि प्रादेशिक अस्पताल जलेश्वरले बन्द नगरी प्रादेशिक अस्पताल जलेश्वरमा सञ्चालनको लागि अनुमति मागेको हो । 

प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.मनीषा भारद्वाजले यस क्षेत्रमा नर्सिङ्ग स्टाफ उत्पादन गर्दै आएको नर्सिङ्ग कलेज बन्द गर्नुको साटो दरबन्दीसहित प्रादेशिक अस्पताल जलेश्वरलाई जिम्मेवारी दिन माग गरिएको जानकारी दिनुभयो । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐनले नर्सिङ पठनपाठन गराउन अनिवार्य रूपमा एक सय बेडको अस्पताल हुनुपर्ने व्यवस्था गरेकोले यस अस्पताललाई मधेश प्रदेश सरकारले दरबन्दीसहितको सय बेडको बनाएर नर्सिङ्ग कलेज निर्माणको जिम्मेवारी दिन आग्रह गर्नुभएको बताउनुभयो । सरकारी तहबाट सञ्चालन हुने नर्सिङ्ग कलेजमा लाग्ने डोनेशन फि सस्तो हुने भएकोले मध्यमवर्गीय परिवारका केटाकेटीहरूसमेतलाई पठनपाठन गर्न सहज हुने भएकोले यस क्षेत्रमा नर्सिङ्ग कलेज सञ्चालन गर्नुपर्ने माग जायज भएको नर्सिङ्ग कलेज जनकपुरका पूर्व प्रिन्सिपल जयकिशोर लालले बताउनुभयो । उहाँले सिराहा अस्पतालले पनि नर्सिङ्ग कलेज सञ्चालनको माग गरिरहेको जानकारी दिनुहुँदै जलेश्वर नगरपालिकाको बासिन्दाको हैसियतले प्रादेशिक अस्पताल जलेश्वरमा नर्सिङ्ग कलेज सञ्चालनको लागि पहल गरिरहेको जानकारी दिनुहुँदै लालले भन्नुभयो, ‘यो विषयलाई लिएर म यस क्षेत्रको प्रदेशसभा सदस्यदेखि लिएर सबै सरोकारबालाहरुसँग पहल गरिरहेको छु, प्रदेश सरकारले पनि यसमा गम्भीर भएर प्रादेशिक अस्पताल जलेश्वरलाई नर्सिङ्ग कलेज सञ्चालनको जिम्मेवारी दिएर न्याय गर्नुपर्छ ।’

यस अस्पतालमा पूर्वाधार भएकोले प्रदेश सरकारले दरबन्दी र एक सय बेडको स्तरोन्नति गरिदिए मापदण्डसमेत पुग्ने तथा अस्पतालमा प्रयोगात्मक कक्षा लिन सहज हुने उहाँको भनाइ थियो । कोरोना महामारीको बेला यस अस्पतालले प्रदेश सरकारको सहयोग र समन्वयमा एक सय बेडको सेवा उपलब्ध गराएको थियो ।