• १२ पुस २०८१, शुक्रबार

‘सरकारले खुट्टा कमाउनु हुँदैन’

blog

वीरगन्ज समाचारदाता

वीरगन्ज, जेठ २ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा दोषी देखिएका जोकोहीलाई कारबाही गर्न सरकारले अन्तिम समयसम्म पनि खुट्टा कमाउन नहुने धारणा राख्नुभएको छ । 

सो पार्टीनिकट दलित मुक्ति सङ्गठन मधेश प्रदेशको दोस्रो प्रदेश अधिवेशनमा सहभागी हुन वीरगन्ज आएका नेता नेपालले सोमबार बिहान समाजवादी प्रेस सङ्गठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो । भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निरन्तर निष्पक्ष रूपले अगाडि बढाउँदै देशलाई भ्रष्टाचारमुक्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

देश, जनता, गणतन्त्र र संविधानको रक्षाका लागि विभिन्न पार्टी मिलेर गठबन्धन गरेको र यो पवित्र गठबन्धनको सरकार सफलतासाथ पाँच वर्ष टिक्ने दाबी उहाँले गर्नुभयो । भ्रष्टाचारको लडाइँमा सम्पूर्णलाई सहयोग गर्न आह्वान गर्दै उहाँले भन्नुभयो, “अहिलेको सरकार देश, जनता, गणतन्त्र र संविधानको रक्षा गर्दै विकासको बाटोमा तीव्र रूपले अगाडि बढेको छ । यसको मूल उद्देश्य नै देशमा समृद्धि ल्याउनु हो ।”

समाजवादी प्रेस सङ्गठनका पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका केन्द्रीय सचिव नागेन्द्र चौधरी, दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्ष गणेश विक, पर्सा अध्यक्ष बालगोपाल थापा, महानगर अध्यक्ष मनोज चौधरीलगायतको सहभागिता थियो ।