काठमाडौं, बैशाख ३१ गते । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकामा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बादलहरु निर्माण भइरहेकाले बेलुकी पख वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् रोजन कोइरालाका अनुसार हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको छ ।
उहाँले भन्नुभयो, ‘‘पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अहिले देशका पहाडी भूभागमा वर्षा भइरहेको छ, अहिले उपत्यकाको आकासमा पानी पार्ने वादल विकसित भएकाले बेलुकीपख काठमाडौंमा पनि वर्षा हुने सम्भावना रहेको छ ।’’
यो क्रम रोकिँदै पुन सुरु हुने उहाँ बताउनुहुन्छ । तराई क्षेत्रको मौसम भने सफा नै रहेको काइरालाको भनाइ छ । आगामी तीन दिन नै देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।
मोखा चक्रपातको प्रभाव छैन
बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा प्रभाव नरहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । मौसमविद् कोइरालाले नेपालमा मोखा चक्रवातको कुनै पनि प्रभाव नरहेको बताउनुभयो ।
“चक्रवात पूर्वतर्फ सरिरहेको छ, नेपालमा यसले असर गर्दैन”, उहाँले भन्नुभयो, “नेपाललाई नछोइकन बङ्गालको खाडी हुँदै तटीय क्षेत्रमा अघि बढेको चक्रवातले भुटान, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारमा मुख्य असर पर्ने देखिन्छ ।”