• १२ मंसिर २०८१, बुधबार

बाहिरका पशु लिमी लैजान नपाइने

blog

लिमीका गाउँबाट उच्च पाटनमा लगिँदै पशु । तस्विर : राजन रावत, हुम्ला ।

राजन रावत

हुम्ला, वैशाख ३१ गते । नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीमा बाहिरबाट पशुवस्तु लैजान रोक लगाइएको छ । जिल्लाका अन्य क्षेत्रमा पशुमा रोग देखिएको तर लिमीका पशुुमा हालसम्म सो रोग नदेखिएको कारण बाहिरका पशुु लैजान रोक लगाइएको हो । 

लिमीका वडा अध्यक्ष पाल्जोर लामाले पशुमा लाग्ने रोगबाट लिमीका तीन गाउँका पशु तथा वस्तुुलाई जोगाउनका लागि बाहिर अन्य स्थानबाट लिमीमा पशु चरणका लागि ल्याउन रोक लगाउने निर्णय गरिएको बताउनुभयो । वडा समितिको बैठक बसेर लिमीको वन क्षेत्रमा बाहिरका पशु ल्याउन बन्देज गर्ने निर्णय गरिएको हो । उहाँले जिल्लाका अन्य सबै क्षेत्रमा पशुमा नयाँ रोग लम्पी स्किन देखिएको जानकारी आएपछि बेलैमा सचेतना अपनाउन लिमीमा बाहिरबाट ल्याउने पशुलाई बन्देज गरिएको बताउनुभयो । 

लिमी प्रवेशका लागि दुुई वटा नाकाहरु पाँच हजार मिटर अग्लो न्यालुु लेक र चार हजार छ सय मिटर अग्लो नारा लेक छन् । नारा लेकबाट कमै पशुवस्तु लिमी चरणका लागि लैजाने गरिएको भएपनि न्यालुुबाट लैजाने गरिन्छ । वैशाख अन्तिम साताबाट लिमी क्षेत्रमा चरनका लागि पशु लैजान गरिन्छ । उहाँले सो रोग लागेका पशु मर्ने र उपचारमा समस्या देखिएको कारण लिमीका पशुुलाई सुरक्षित राख्ने उपाय भनेकै अन्यत्रका पशुवस्तु लिमी लैजान बन्देज गर्ने निर्णय उपयुक्त भएको कारण वडाले सो निर्णय गरेको बताउनुभयो । 

रोग भित्रिन नदिने सही निर्णय नै लिमीमा बाहिरका पशु चरणका लागि प्रवेश नदिन कार्य नै उपयुक्त भएको ठहर वडा र गाउँवासीको छ । लिमीमा दुई सय पचासभन्दा बढी चौरी एक हजार भन्दा बढी अन्य पशुुहरु छन् । यसबाट लिमीका पशुुलाई सुरक्षित राख्न सहज हुनेछ । त्यसै लिमीका तीन गाउँमा मासु खानसमेत रोक लगाउने निर्णय वडाले गरेको छ । 

यसअघि विश्वभर कोरोना महामारी फैलिएकोबेला लिमीवासीले मानिसहरु आउजाउसँगै लिमी प्रवेशमा रोक लगाएको थियो ।