• १३ मंसिर २०८१, बिहिबार

आर्थिक समृद्धिका लागि सुशासन आवश्यक : अध्यक्ष तिमिल्सिना

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्लिना कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, बैशाख ३१ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक समृद्धिका लागि सुशासन अनिवार्य रहेको बताउनुभएको छ । दुर्लुङ समाज पोखराको दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

‘‘समृद्ध नेपाल त्यो पनि न्यायपूर्ण विभेदरहित समाज निर्माणको आवश्यक छ । त्यो अनुसारको प्रतिफल नपाइरहँदा जनताको मन अमिलो हुनु, विरोधको स्वर अगाडि आउनु स्वभाविक हो’’ उहाँले भन्नुभयो । जनताको सेवा गर्छु भनेर निर्वाचित जनप्रतिनिधिले इमान्दारपूर्वक देश र जनतालाई अगाडि सम्झेर निर्धारित आफ्ना जिम्मेवारीमा लाग्नुपर्ने उहाँले बताउनुभयो । 

पर्वत विकासमा सबै लागि पर्न उहाँले आग्रह गर्नुभयो । ‘‘विकास अपेक्षा र माग बढ्दै जान्छ । हिजोको प्रगतिमा चित्त बुझाइयो भने अगाडि बढ्न सकिदैन’’ उहाँले भन्नुभयो, “नागरिकले महशुस हुनेगरी परिवर्तन आवश्यक रहेको छ । परिवर्तन केही पनि भएन भन्न मिल्दैन । केही नराम्रा कामले राम्रा कामलाई ओझेलमा पारेको छ । जति प्रगति हुनुपथ्र्यो त्यति नहुँदा गुनासो आउनु स्वभाविक हो ।”

हिजोको अवस्था हेर्दा अहिले प्रगति भएको अनुभुति हुनेगरेको उहाँले बताउनुभयो । ‘‘विद्यालय भवन, वडा वडामा स्वास्थ्य चौकी, पालिकामा अस्पताल बनिरहेका छन्’’ उहाँले भन्नुभयो । 

साधारण सभा कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले गाउँ छाडेर सहरमा छरिएर रहेकालाई एकावद्ध समाजले बनाएको बताउनुभयो । उहाँले दुर्लुङ समाजले सुरुवात गरेको एम्बुलेन्स अभियानलाई सकारात्मक रुपमा हेरिएको सुनाउनुभयो । ‘राज्यले किनेर दिनुपर्ने ठाउँमा तपाईहरु लागि पर्नुभएको छ । एम्बुलेन्स छिटो सञ्चालनमा आउनेछ । कताकता एम्बुलेन्सको दुरुपयोग पनि हुनेगरेको समाचार आउनेगरेका छन् । त्यसमा सावधानी अपनाउनु पर्ने हुन्छ’ उहाँले भन्नुभयो । 

प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले जहाँ गए पनि मातृभूमिको जिम्मेवारी विर्सन नहुने बताउनुभयो । दुर्लुङ समाजले पोखरा आएर बसेकालाई एउटै छातामा राख्ने र दुःख सुखमा साथ दिने काम गर्न पर्ने उहाँले सुझाव दिनुभयो । 

‘‘भावना एकता कायम, दुःख पिरमा साथ दिने काम गर्नपर्छ । एम्बुलेन्स अभियान सुरु भएको छ । यो निजि स्तरबाट गाह्रो काम हो” उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘एम्बुलेन्स सञ्चालनका लागि बजेट निकै लाग्छ । तपाईहरु नआत्तिनुहोस् । केही रकम पुगेन भने हामी छौं । एम्बुलेन्स अभियानले पूर्णता पाउँछ ।’’

प्रदेश सभा सदस्य मित्रलाल बस्यालले समाजले गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै एम्बुलेन्स अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अर्का प्रदेश सभा सदस्य भक्त कुँवरले समाज गठन गरी आफ्नो जन्मथलोमा केही गर्नुपर्छ भन्नुभयो । 

प्रदेश सभा सदस्य रेखा गुरुङले जनताले देख्नेगरी काम गर्ने बताउनुभयो । कुश्मा नगरपालिका उपप्रमुख स्वास्थानी रिजालले वडामा एम्बुलेन्स नहुँदा बिरामी ल्याउन असहज भएको अवस्थामा दुर्लुङ समाजले गरेको अभियानमा हातेमालो गर्ने बताउनुभयो । उहाँले ५१ हजार रुपियाँ एम्बुलेन्स अभियानमा सहयोग गर्ने घोषणा गर्नुभयो ।