• २६ पुस २०८१, शुक्रबार

नब्बे प्रतिशतका हातमा पाठ्यपुस्तक

blog

घोराही समाचारदाता 

घोराही, वैशाख ३१ गते ।  दाङमा यस शैक्षिक सत्रमा करिब ९० प्रतिशत पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगिसकेको छ। पाठ्यक्रम  परिवर्तन भएका केही पाठ्यपुस्तकबाहेक अधिकांश पुस्तक विद्यार्थीको हातमा पुगेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङका अध्यक्ष शङ्कर शर्माले जानकारी दिनुभयो। 

चालु शैक्षिक सत्रमा पाठ्यक्रम  परिवर्तन भएका पुस्तक पनि जेठको पहिलो साताभित्रै विद्यार्थीको हातमा पुग्ने अध्यक्ष शर्माले बताउनुभयो। उहाँका अनुसार संस्थागततर्फ करिब १५ प्रतिशत र सामुदायिकतर्फ करिब १० प्रतिशत पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न बाँकी छ। 

अध्यक्ष शर्माले भन्नुभयो, “विगत वर्षको तुलनामा यस वर्ष विद्यार्थीले सहजै पाठ्यपुस्तक प्राप्त गरेका छन् तर पाठ्यक्रम  परिवर्तन भएका पुस्तक भने पर्याप्त मात्रामा आउन सकेका छैनन्।” 

संस्थागत र सामुदायिक दुवैतर्फ पाठ्यक्रम  परिवर्तन भएका कक्षा ५, ८ र १० का पाठ्यपुस्तक अझै विद्यार्थीको हातमा नपुगेको हो। गत वर्षभन्दा यस वर्ष पाठ्यपुस्तकको आपूर्ति सहजै भएको घोराहीमा पुस्तक वितरणको जिम्मा पाएको हिमाल बुक्स एन्ड स्टेसनरीका सञ्चालक प्रेम डाँगी बताउनुहुन्छ।