• २६ पुस २०८१, शुक्रबार

स्थानीय सरकारका एक वर्ष

प्रतिबद्धता अनुसार काम नभएको जनताको गुनासो

blog

रुपन्देहीको कञ्चन गाउँपालिकामा योजना छनोटसम्बन्धी छलफल कार्यक्रम । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, वैशाख ३१ गते  । स्थानीय तहको निर्वाचन भएको शनिबार ठिक एक वर्ष पूरा भएको छ। गत वर्षको वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। 

निर्वाचनपछि स्थानीय जनताले विकासको गतिले फड्को मार्ने अपेक्षा गरेका थिए तर जनताको अपेक्षा अनुसार जनप्रतिनिधिले काम गर्न नसकेको गुनासो बढ्दै गएको छ। 

निर्वाचनको करिब एक वर्षको बीचमा विकासका धेरै काम र योजना सुरु भए पनि ती योजना र कामले गति लिन नसकेको स्थानीयको गुनासो छ। 

त्यसैगरी सञ्चालन भएका योजना छिटो सम्पन्न गर्न र अधुरो योजनालाई कार्यान्वयन गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गरेका छन्। 

रुपन्देहीका सबै पालिका प्रमुखले कामको सुरुवातीमा सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको विषयलाई पहिलो प्राथमिकतामा राखेका थिए तर एक वर्षको बिचमा रुपन्देहीमा एक सय थान लालपुर्जा पनि वितरण हुन सकेन।  

कञ्चन गाउँपालिकाका समाजसेवी रामप्रसाद सापकोटाले जनप्रतिनिधिले भोट माग्ने बेला धेरै आश्वासन देखाए पनि जितेर गएपछि जनताले विकास र परिवर्तनको अनुभूति पाउने गरी काम नभएको बताउनुभयो।  विकासका रूपमा सडक र पुलपुलेसालाई प्राथमिकता दिने तर साना साना आयोजनाको विषयमा ध्यान नदिने प्रवृत्ति जनप्रतिनिधिमा बढ्दै गएको उहाँको गुनासो छ। 

यसैगरी सैनामैना नगरपालिकाका रमेश क्षेत्रीले विगतमा सुरु भएका आयोजनाको काम समेत एक वर्षको बीचमा सुरु नभएको बताउँदै योे अवधिमा खासै सन्तोष मान्ने काम नभएको गुनासो गर्नुभयो। 

चुनावका बेला भोट माग्न आउँदा उम्मेदवारहरूले कृषिमा अनुदान दिने, उत्पादनको आधारमा विभिन्न अनुदानको व्यवस्था गर्ने, विकास निर्माणमा लागत सहभागिता हटाउने, कृषिमा उत्पादन भएको अन्नको रेकर्ड पालिकामा राख्ने, उत्पादन नबढ्नुको कारण खोज्ने, सुकुमवासी समस्या समाधान गर्ने, अव्यवस्थित बसोबासीको समस्या सम्बोधन गर्ने भने पनि जितेर गएपछि खासै काम हुन नसकेको क्षेत्रीको भनाइ छ।

गैडहवा गाउँपालिकाका स्थानीयले गाउँघरसम्मै बाटो निर्माण गरिदिने, सडक ग्राभेल गर्ने, खानेपानी र सिँचाइको सुविधा पु¥याउने प्रतिबद्धता चुनावका बेला गरिए पनि ती काम नभएको गुनासो गरेका छन्। 

स्थानीय गणेश यादव भन्नुहुन्छ, “विकास निर्माणका लागि एक वर्षको समय धेरै होइन तर सन्तोष र आशा लाग्ने कामको समेत सुरुवात हुन सकेन।”   ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताले गाउँघरका साना साना विषय सम्बोधन भए पनि सन्तोष मान्ने बताउँछन्। खेतीपातीको समयमा सधैँ सिँचाइको समस्या हुने गरेको र समयमा मल नपाउँदा उत्पादनमा समेत कमी आएकाले जनप्रतिनिधिको ध्यान सिँचाइ र मल सहज उपलब्ध गराउनेतर्फ जानुपर्ने माग गरेका छन्। 

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कुनै पनि विकास निर्माणका लागि एक वर्षको समय पर्याप्त नभएकाले पालिकाले पञ्चवर्षीय योजना बनाएर काम अघि बढाउने बताउनुभयो। उहाँले आफूहरूले नेतृत्व गरेको करिब एक वर्षको बिचमा जनताका आशा र अपेक्षा अनुसारका धेरै काम गरेको दाबी गर्नुभयो। 

उहाँले जिल्लामै सबैभन्दा पहिले कञ्चन गाउँपालिकाबाटै नापीको काम सुरु गरेको र अहिले सबै काम सकाएर लालपुर्जा वितरण गर्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो।  

कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापामगरले अघिल्लो सरकारको पालामा बजार अनुगमनको नीति नबनेकामा बजार अनुगमन गर्न समस्या परेका बेला आफूहरू आएपछि बजार अनुगमन गर्नका लागि नीति बनाएर काम अघि बढाएको दाबी गर्नुभयो।

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले सीमित स्रोतका बिचमा जनताका असीमित आवश्यकता पूरा गर्न नसकिने बताउँदै व्रmमागत योजनामा जोड दिएको बताउनुभयो।