• २६ पुस २०८१, शुक्रबार

यार्सा सुरक्षाका लागि स्थानीयको गस्ती

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, वैशाख ३१ गते ।   यार्सागुम्बा सङ्कलनको मिति नजिकिँदै गर्दा पुथाउत्तरगङ्गा गाउँपालिका–१, २ र ३ का स्थानीय युवाले सुरक्षा गस्ती सुरु गरेका छन्। यार्सागुम्बा सुरक्षाका लागि करिब तीन सय स्थानीय युवा यार्सा पाइने पाटन लेक क्षेत्रतर्फ लागेका हुन्। 

यार्सागुम्बा टिप्न सुरु गर्नुभन्दा एक महिनाअघिदेखि वडा नं. १, २ र ३ का प्रत्येक घरबाट सुरक्षाका लागि बुकी उक्लिने पुरानो नियम रहेको पुथाउत्तरगङ्गा–१ का वडाध्यक्ष वीरमान विकले बताउनुभयो। विकले भन्नुभयो, “हाम्रो तीन वटा वडाको संयुक्त यार्सा पाटन भएकाले हामी यससँग सम्बन्धित नियम संयुक्त रूपमा बनाएर एकीकृत रूपमा स्थानीयलाई परिचालन गर्छौं।”

वडा नं. १ र २ को पुपाल, अर्बुजा, गुर्घाट, जङ्गला, रमण, पानीढाल र कुण्डलालगायतका क्षेत्र र वडा नं. ३ को कालेखागरदेखि सुनदह आसपास, चौँरीखर्क र साङ्गे क्षेत्र यार्सागुम्बा पाइने भूभाग रहेको पुथाउत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो। 

यार्सगुम्बा पाइने क्षेत्रमा स्थानीय प्रहरी प्रशासनको पनि सुरक्षा रहन्छ तर पहिलेदेखि नै गाउँले नै सुरक्षा गर्ने चलन भएका कारण एक महिनाअघि स्थानीय खटाउने गरेको अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो। यार्सागुम्बा टिप्नका लागि तयार भइसकेपछि चोरी हुने जोखिम बढेकाले तीन वटै वडाका स्थानीयले स्वयम्सेवक भएर गस्ती गर्ने गरेको उहाँको भनाइ छ।

जडीबुटी पाइने बुकी पाटनमा स्थानीयले सुरक्षाको पहल लिने कुराले स्थानीय प्रशासनलाई सहयोग पुगेको निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल आचार्यले बताउनुभयो। उहाँले भन्नुभयो, “एकदम उचाइमा यार्सागुम्बा पाइने हुनाले सुरक्षाकर्मी, प्रहरी सबै त्यहाँ पुग्न सक्दैनन्। यसमा स्थानीयले हामीसँग समन्वय गरेर सुरक्षामा सहयोग गर्नुहुन्छ। यो हाम्रा लागि सुखद कुरा हो।”