• १५ असोज २०८१, मङ्गलबार

दस महिनामा विपतमा परी दसको मृत्यु, छ करोडको क्षति

पूर्वतयारी कार्ययोजना तयार हुँदै

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, वैशाख ३१ गते  । गत भदौ ३० गते बिहान काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा घर माथिबाट पहिरो आउँदा एकै परिवारका तीन जनाको घटनास्थलमा नै मृत्यु भयो । घरनजिकैको जग्गामा ढुङ्गाखानी चलाउँदा अविरल वर्षासँगै आएको पहिरोमा परी आमासहित छोराछोरीको मृत्यु भएको थियो । 

भदौ अन्तिममा बेथानचोकमा भएको यो विपत्ति एउटा उदाहरण मात्रै हो । काभ्रेपलाञ्चोक जिल्ला प्राकृतिक प्रकोपको जोखिममै परेको जिल्ला हो । २०७९ साउनदेखि अहिलेसम्ममा काभ्रेपलाञ्चोक जिल्लामा बाढीपहिरो, आगलागी, चट्याङ जस्ता प्रकोपबाट १० जानको मृत्यु भएको छ भने छ करोड २३ लाख ८८ हजार पाँच सय रुपियाँको आर्थिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको तथ्याङ्क अनुसर आर्थिक वर्ष २०७९/८० को यो १० महिनाको अवधिमा पहिरोबाट चार जना, आगलागीबाट दुई जना, करेन्ट लागेर दुई जना, खोलामा डुबेर/बगेर दुई जना गरी हालसम्म १० जनाको मृत्यु भएको छ । यो अवधिमा खोलाले बगाएकामध्ये चार जना अझै बेपत्ता रहेका छन् । आगलागीमा परी दुई, पहिरोमा तीन, चट्याङ लागेर चार, करेन्ट लागेर र जनावरको आव्रmमणबाट एक÷एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो । यसैगरी यो १० महिनामा आगलागी, बाढीपहिरोलगायतका प्राकृतिक विपत्मा परी ८९२ वटा पन्छी र १७५ चौपाया मरेका छन् । यो अवधिमा विभिन्न घटनाबाट ३७६ परिवार प्रभावित भएका छन् । 

जिल्लामा हालसम्म आगलागीबाट पाँच करोड ८८ लाख २७ हजार, अविरल वर्षाका कारण २६ लाख ५९ हजार पाँच सय, पहिरोबाट सात लाख ३७ हजार, चट्याङबाट एक लाख ६५ हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क रहेको छ । अघिल्लो आर्थिक वर्ष ११ जनाको ज्यान गएको र १३ जना घाइते भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । विभिन्न विपत्बाट ४२७ परिवार पीडित बनेका थिए । गत आर्थिक वर्ष विभिन्न विपत्का घटनामा चार करोड ८८ लाख ४३ हजार चार सय रुपियाँ बराबरको आर्थिक क्षति भएको थियो । 

प्रतिकार्ययोजना बनाइने 

यस जिल्लाका १३ वटा स्थानीय तहमा भूकम्प, पहिरो, बाढी, हुरीबतास/चट्याङ, आगलागी, सवारी दुर्घटना, महामारीको जोखिम रहेको छ । सबभन्दा बढी प्राकृतिक प्रकोपका घटना वर्षायाममै हुने गरेका छन् । बाढीपहिरो र वर्षाका कारण धेरै धनजनको क्षति हुने भएकाले अहिले यस जिल्लामा विपत्का लागि पूर्वतयारी हुन थालेको छ । 

काभ्रेपलाञ्चोक जिल्लामा हुन सक्ने विपत् न्यूनीकरण तथा विपत्पछिको खोज तथा उद्धार कार्य सम्बन्धी योजना असारअघि नै तयार गरिने भएको छ । काभ्रेपलाञ्चोकका प्रमु्ख जिल्ला अधिकारी पुण्यविक्रम  पौडेलले वर्षायाम सुरु हुन लागेसँगै आगामी वर्षको जिल्लाको विपत् प्रतिकार्य योजना र मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गरिने बताउनुभयो । 

उहाँले विपत् प्रतिकार्ययोजना र मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको संयोजकत्वमा समिति गठनसमेत भइसकेको जानकारी दिनुभयो । “वर्षायाममा हुन सक्ने विपत्को तयारीका लागि विपत् समितिका चारवटा तयारी बैठक, एउटा पूर्वतयारी अभ्यास गरिसकेका छौँ, अब हामी विपत्को समयमा आवश्यक पर्ने जनशक्ति तथा स्रोत साधनको खोजी गर्दै छौँ” प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो । 

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जिल्लाका सबै स्थानीय तहलाई आआफ्नो स्थानीय तहको विपत् प्रतिकार्ययोजना तथा मनसुन पूर्वतयारी कार्ययोजना तयार गर्न अनुरोध गरिएको बताउनुभयो । उहाँले आगामी दुई साताभित्र जिल्लाको पूर्वतयारी योजना निर्माण हुने र स्थानीय तहलाई समेत योजना बनाउन अनुरोध गरिएको बताउनुभयो ।