सर्लाही समाचारदाता
सर्लाही, वैशाख ३१ गते । मिटरब्याजीविरुद्ध सर्लाहीमा ७६४ वटा उजुरी परेका छन्। अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा शुक्रबारसम्म ७६४ जनाको उजुरी दर्ता भएको हो।
सरकारले मिटरब्याजको सम्बन्धमा अनुसन्धान गरी पीडकलाई कारबाही गर्न जाँचबुझ आयोग गठन गरेपछि सर्लाहीका मिटरब्याज पीडितले आफूलाई पीडा दिने मिटरब्याजीविरुद्ध धमाधम उजुरी दिइरहेका हुन्। यस प्रकारको उजुरी लिन कार्यालयमा सहायता कक्ष नै स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायता कक्षमा राखिएका कर्मचारीले पीडितलाई उजुरी लेख्नका लागि सहयोग गर्दै आइरहेका छन्।
उजुरी आउने क्रम जारी नै रहेकाले जेठ १ गतेदेखि ७ गतेसम्म (एक साता) उजुरी दिने म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। शुक्रबारसम्म परेका ७६४ वटा उजुरीमध्ये श्याम परदेशी भन्ने श्यामकृष्ण साह, सञ्जय रौनियार, रामबाबु यादव, उमाशङ्कर रौनियार, नागेश्वर साह, रामस्वरुप राय, इन्दल राय, नरेन्द्र खिलहरी, श्याम कुँवर, ईश्वर गुप्ता, रेखा साहलगायतविरुद्धका उजुरी धेरै छन्।
सरकारले जाँचबुझ आयोग नै गठन गरेर उजुरी माग गरेपछि यो पटक धेरै पीडित सम्पर्कमा आइरहेका जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले बताउनुभयो। मिटरब्याजी साहुको अत्याचारले घरबास नै उठ्ने अवस्था आएको भन्दै सर्लाहीका पीडितले पटक पटक जिल्लामा तथा सङ्घीय राजधानी काठमाडौँमा गएर आन्दोलन गर्दै आइरहेका छन्। मिटरब्याजीपीडित सङ्घर्ष समिति सर्लाहीकी अध्यक्ष रुक्मिणी चौधरीले जाली तमसुक बनाएर आफूहरूमाथि पीडा दिने र अन्याय गर्ने साहुकरमाथि यो पटक कारबाही हुने विश्वास व्यक्त गर्नुभयो । देशका अन्य जिल्लाको तुलनामा सर्लाहीमा मिटरब्याजपीडित धेरै नै रहेका छन्।