• १३ मंसिर २०८१, बिहिबार

विकास योजनामा पक्षपात गर्नु हुँदैन : अध्यक्ष तिमिल्सिना

blog

मोदी गाउँपालिका –७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिना ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ३० गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले बिकासका योजना छनौटमा पक्षपात गर्न नहुने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका –७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । 

‘बिकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लग्ने र अरुले नपाउने भयो भने त्यस्तो अबस्थामा बिद्रोह हुन्छ । पक्षपातरहित् ढङ्गले बिकासको समानुपातिक रुपले वितरण आवश्यक छ ।’

अध्यक्ष तिमिल्सिनाले बिकासमा पक्षपात गर्नु हुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने बताउनुभयो । सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन् भन्ने पार्नुपर्ने उहाँले सुझाव दिनुभयो । तीन वटै तहका सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उहाँले सुझाउनुभयो ।  

पर्वतको सबै वडा कार्यालयसम्म पुग्ने सडकहरु कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनौट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई धैर्यता गर्न आग्रह गर्नुभयो । उहाँले आफु राष्ट्रियसभा अध्यक्ष भए पनि बिकास निर्माण र देशका अन्य सरोकारका बिषयमा लागिरहने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुवँर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्मा, निवर्तमान अध्यक्ष प्रेम पौडेल,  उपाध्यक्ष बिमल लामिछाने, वडा ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मालगायतले धारणा व्यक्त गर्नुभयो ।

सो वडा कार्यालयको भवन ६८ लाख रुपियाँको लागतमा निर्माण भएको थियो । भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र निलकुमारी तिमिल्सिनाले २ रोपनी ६ आना जग्गा निःशुल्क सहयोग गर्नुभएको थियो ।