• १३ वैशाख २०८१, बिहिबार

संगीनाको त्यो साहस

blog

काठमाडौं, वैशाख ३० गते। छोरी मान्छे हत्तपत्त घरबार बाहिर जान हुन्न भन्ने समय।त्यसमाथि मार्सल आर्ट्स खेल्ने कल्पना त टाढाको कुरा।तर संगीना वैद्य आम मानिसको सोचाईलाई चकित पार्दै सफल खेलाडी बनेर छाड्नुभयो।नेपाली तेक्वान्दोमा एक छत्र राज गर्नुभएकी संगीनासँग अहिले नाम, दाम र प्रतिष्ठा सबै छ।

नुवाकोटको त्रिशूलीमा जन्मिएर उच्च शिक्षाको लागि काठमाडौंको यात्रा तय गर्दै गर्दा उहाँको मनमा भविष्यमा खेलाडी बन्ने सोच मनको कुनै कुनामा गडेको थियो।स्कुल जीवनमा खेलेका खेलमा उहाँले पाएको सफलताले पनि खेलप्रति चाख थियो।

‘‘बाल्यकालमै एक दिन छिमेकी दाजुकोमा विश्व चर्चित मार्सल आर्ट्स खेलाडी ब्रुस लीको फिल्म हेर्ने मौका पाएको थिएँ।ब्रुस लीको त्यही एक्सन र फाइटले पनि मलाई मार्सल आटर््स खेल्ने भूत जगायो।त्यो भूतलाई विस्तारै मैले आत्मसाथ गरेँ भन्ने लागेको छ,’’ संगीना तेक्वान्दोमा लाग्नुको रहस्य खोल्नुभयो ।


 विस्तारै तेक्वान्दोलाई आफ्नो खेल बनाउँदै अगाडि बढ्नु भएकी संगीनाले राष्ट्रिय स्तरका प्रतियोगितामा सफलता प्राप्त गर्ने क्रम सुरु भयो।सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोले खेलले प्रवेश पायो।उहाँले सागको डेब्यु मै स्वर्ण जितेर सनसनी मच्चाउनुभयो।त्यसपछि त उहाँले कहिल्यै  पछाडि फर्केर हेर्नुपरेको छैन।

संगीनाका अनुसार ३० वर्षअघि नेपालमा खेलकुदलाई हेर्ने दृष्टि फरक थियो।अझ महिला भएर खेलकुदमा लाग्नु नै गलत हो भन्ने बुझाई थियो।

‘‘त्यसबेला मार्सल आर्ट्सलाई गुण्डागर्दी गर्ने खेलको रुपमा चिनिन्थ्यो।मैले परिवारलाई बुझाउन गाह्रो परेको थियो।समाजले मलाई पनि नकारात्मक रुपमा हेरेको थियो।तर मैलै साहज जुटाएर खेलेँ।राम्रो खेलेर परिवारलाई हौसला दिन सकेँं।त्यो बेला र अहिले आकाश जमिनको फरक छ।खेलाडीले राम्रो सुविधा पनि पाएका छन्।तर, स्तर बढ्न सकेको छैन ।’’ 

नेपाली खेलकुदमा ‘तेक्वान्दो क्वीन’ नामले परिचित संगीना सदावहार सफलताको पर्याय हुनुहुन्छ।सन् १९९१ देखि तेक्वान्दो खेल्न सुरु गर्नुभएको उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा १० स्वर्ण, एक रजत र दुई कांस्य जित्नु भएको छ। संगीना सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक यात्रा तय गर्ने पहिलो नेपाली महिला खेलाडी हुनुहुन्छ।सोझै ओलम्पिकमा छनोट भएर खेल्ने संगीनाको कीर्तिमान भेट्टाउन अझै कसैले सकेको छैन।


सागमा दोहोरो स्वर्ण र एसियन च्याम्पियनसिपमा पदक चुम्न सफल संगीनाले चोटका कारण खेलबाट २०६६ सालमा सन्न्यास लिनुभयो।सक्रिय खेलबाट सन्न्यास लिँदा उहाँलाई कार पुरस्कार प्रदान गरिएको थियो।पछिल्लो समय प्रशिक्षकको रुपमा पनि सक्रिय हुनुहुन्छ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबको प्रशिक्षक संगीनाले नेपालमै भएको १३ औं सागमा नेपाली तेक्वान्दोको टोलीको प्रशिक्षण पनि सम्हाल्नुभयो। १३ औं सागमा नेपाली तेक्वान्दोलाई प्रशिक्षकको रुपमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य गरी २९ पदक जिताउन सफल उहाँ अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक रहनुभएको छ।

खेलाडी, प्रशिक्षक र व्यवस्थापकको समेत जिम्मेवारीमा रहनुभएकी संगीनासँग नेपालको समग्र खेलकुद र महिला खेलाडीको अवस्थाबारे गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशव गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :