• २६ पुस २०८१, शुक्रबार

झोलुङ्गे पुल निर्माण : विद्यालय आवतजावत सहज

blog

मीना कँडेल

कावासोती, वैशाख ३० गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–६, कीर्तिपुरस्थित देउसत खोलामा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा स्थानीयलाई सहज भएको छ। बर्खायामको समयमा झोलुङ्गे पुल नहुँदा समस्या भोग्दै आएका चुहारका स्थानीय झोलुङ्गे पुल निर्माण भएपछि खुसी भएका छन्। 

पुल निर्माण भएपछि बर्खायामको  समयमा चुहारवासी र विद्यार्थीले सास्ती भोग्न नपर्ने भएको छ। स्थानीय तिलप्रसाद सोतीले भन्नुभयो, “हामी धेरै खुसी भएका छौँ। हाम्रा छोराछोरीलाई विद्यालय आउजाउ गर्न धेरै समस्या थियो अब भने त्यो समस्या समाधान भएको छ।” 

देवचुली नगरपालिका–६ का वडाध्यक्ष मीनबहादुर सोतीमगरले भन्नुभयो, ‘यो ठाउँको विकासका लागि कीर्तिपुर आउने सडक कालोपत्रे, पुल निर्माणलगायत विभिन्न क्षेत्रमा काम भएकाले हामी एकदमै आभारी छौ।” प्रदेश सरकार 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको करिब ६५ लाख रुपियाँ लागतमा पुल निर्माण भएको हो।

चुहार गाउँमा कम बस्ती भए पनि स्थानीयको समस्यालाई प्राथमिकतामा राखेर पुल निर्माण गरिएको देवचुली नगर प्रमुख हरि न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो, “यो देउसत खोलामा पुल नहुँदा चुहारका विद्यार्थीले बर्खायाममा पढ्न नपाइने अवस्था थियो। त्यही समस्यालाई मध्यनजर गरेर पुल सम्पन्न भइसकेको छ। अब विद्यार्थीहरूले सास्ती खेप्न नपर्ने विश्वास लिएको छु।” 

पुल नहुँदा घुमेर जानुपर्ने बाध्यता थियो। अब पुल निर्माण भएपछि सहज भएको स्थानीयको भनाइ छ।  १८ घरधुरी रहेको चुहार गाउँमा पुल निर्माणले धेरै राहत मिलेको छ।