सिराज खान
नेपालगञ्ज, वैशाख २९ गते । बाँके नरैनापुर गाउँपालिकाबाट नेपालगञ्जतर्फ लैजाँदै गरेको २६ थान अवैध सालको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ । नरैनापुर वडा नं.४ देखि गहुँ लोड गरिएको भे.१ त.६८०६ ट्याक्टरभित्र लुकाई नेपालगञ्जतर्फ लैजाने क्रममा २६ थान सालको चिरान (फ्रेम) सहित ट्याक्टरसमेत सशस्त्र प्रहरी बल गङ्गापुरले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाका अनुसार विशेष सूचनाको आधारमा खानतलाशी गर्दा नरैनापुर ४ बस्ने छोट्टन खाँको गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाई छिपाई नेपालगञ्जतर्फ लैजाने क्रममा अवैध काठ नरैनापुर वडा नं.६ जमुनीबाट बरामद गरिएको हो । उहाँले अवैध काठ ओसारपसार भइरहेको भन्ने सूचना आएपछि गरिएको खातलासीबाट काठ र ट्याक्टर नियन्त्रणमा लिइएको बताउनुभयो ।
डिएसपी थापाले आवश्यक कारवाहीका लागि सो काठ र ट्याक्टरलाई डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको जानकारी दिनुभयो ।
यस्तै, प्रहरीले ट्याक्टरमा लोड रहेको गहुँ भन्सारमा बुझाउने जनाएको छ । नरैनापुर क्षेत्रबाट भइरहेको काठ तस्करीबारे विशेष रुपमा अनुसन्धान गरिरहेको पनि सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेले जनाएको छ ।