• १२ साउन २०८१, शनिबार

संविधानसभा सदस्य बस्नेतको निधन

blog

काठमाडौँ, वैशाख २९ गते । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।

गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष एवं नेपाली काँग्रेस नेता समेत रहनु भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ । उहाँ काठमाडौँको सिफलमा बस्दै आउनु भएको थियो । 

२००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मनुभएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एम.ए. , बी.एल. गर्नुभएको थियो ।

२००७ सालको जन–क्रान्तिदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहेर राजनीति गर्नुभएका बस्नेत नेपाली काँग्रेसको पूर्व केन्द्रीय तथा पूर्व सांसद पनि हुनुहुन्छ । उहाँले २०४८ सालदेखि २०५१ सालसम्म गाेरखापत्र संस्थानकाे अध्यक्षको जिम्मेवारी समेत बहन गर्नु भएको थियो । 

नेपाली राजनीतिमा उहाँको अतुलनीय योगदान रहेको र प्रजातन्त्र प्राप्तिदेखि बहुदल, लोकतन्त्र, गणतन्त्र प्राप्तिसम्ममा उहाँको योगदान रहेको थियो । उहाँले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर पनि लामो समयसम्म काम गर्नुभएको थियो । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुृम्बुका पूर्व सभापति समेत रहनु भएका बस्नेत हाल जननायक वीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै बस्नेत राजनीतिकर्मी, साहित्यकार, सम्पादक र समाजसेवी बस्नेत बहुआयमिक व्यक्तित्वको धनी हुनुहुन्थ्यो भनेको छ । 

नेपाली कांग्रेसको इतिहासका जानकार बस्नेतले राजनीतिक जीवन यात्राका विभिन्न समयमा ९ वर्ष जेल जीवन समेत व्यतीत गर्नुभएको थियो । 

उहाँ अत्यन्त शालीन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । 

नेपालको राजनीतिक एवं सामाजिक रुपान्तरणको अभियानमा संलग्न रहँदै गर्दा अविवाहित रहेर सामेल हुनु भयो । 

उहाँको निधनबाट नेपाली कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ । 

स्वर्गीय बस्नेतप्रति सम्मान प्रकट गर्दै कांग्रेसले २०८० बैशाख २९, ३० र ३१ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, बैशाख ३१ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरिएको  जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । 

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, लेखक, साहित्यकार पुरुषोत्तम बस्नेतको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ ।’’