बैतडी समाचारदाता
बैतडी, वैशाख २९ गते । खलो प्रथाका कारण बैतडीका अधिकांश ठाउँमा परम्परागत आरन बन्द हुँदै गएका छन् । वर्षभरि आरनमा फलाम पिटेर कृषि औजार बनाएबापत खलो (बालीघरे)का रूपमा पाइने एक पाथी मकै र गहुँले जीविका नचलेपछि आरनको काम छाडेर शिल्पकारहरू ज्याला मजदुरी गर्न भारत जान थालेका छन् ।
आरनसँगै गाउँमा खेतीपातीको कामसमेत घट्न थालेको छ । जलवायु परिवर्तनका कारण लामो समयसम्म खडेरी पर्ने, युवा जनशक्ति पलायन हुने हुँदा गाउँको अधिकांश जमिन बाँझो छ ।
बैतडी सदरमुकाममा ३५ वर्षदेखि आरनको काम गर्दै आउनुभएका शङ्कर टमटा सदरमुकामका एक्ला आरनकर्मी हुन् । आरन पेसाले जीविका नचल्दा नयाँ पुस्ता यो पेसाबाट पलायन भइसकेको उहाँले बताउनुभयो ।
गएको १० वर्ष यता गाउँका करिब सबै जसो आरन बन्द भएको सिगास गाउँपालिका–१, का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । आरन पेसा जोगाउन स्थानीय तहको सरकारले आरन सुधार र औजार उपकरणका लागि आर्थिक सहायता गर्ने गरेको छ ।
तर पनि नयाँ पुस्ता आरनमा टिक्न नसकेको उहाँले बताउनुभयो । वडाध्यक्ष ऐरीले भन्नुभयो, “खलो प्रथाले जीविका नचल्ने एउटा कारण हो तर आरनलाई आधुनिकीकरण गरेर वेल्डिङमा रूपान्तरण गर्न सकिन्छ । सिलाइकटाइको तालिमजस्तै नयाँ पुस्तालाई आरनको तालिम दिन सकिन्छ । यसका लागि आरन पेसामा लागेका समुदाय र अगुवाले प्रस्तावना ल्याउन सकेका छैनन् ।”
आरन पेसामा लागेका समुदायलाई सुदूरपश्चिम प्रदेश सरकारबाट २० हजारका दरले आरन सुधार गर्न सहयोग गरिरहेको सामाजिक विकास कार्यालय प्रमुख शङ्करदत्त जोशीले बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा बैतडीका २५ जना आरनकर्मीलाई आर्थिक सहयोग गर्ने कार्यव्रmम रहेको बताउनुभयो ।
राज्यले आरन सुधार गर्न १५/२० हजार रुपियाँ दिएर औजार उपकरण खरिद गर्न सहयोग गरे पनि नयाँ पुस्ता आरन पेसामा टिक्न सकेका छैन । आरन पेसा सङ्कटमा पर्नुको मुख्य कारण खलो प्रथा, जातीय विभेद, आर्थिक सङ्कट, शिक्षा र स्वास्थ्यमा पहुँच नहुनु रहेको सिगास गाउँपालिका–१, का स्थानीय दीपक विश्वकर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आरनको काम गरेर वर्ष दिनसम्म खान पुग्दैन । भारतमा ज्याला मजदुरी गर्दा वर्षमा करिब दुई लाख रुपियाँ कमाउन सकिन्छ । स्थानीय तहको सरकारले आरन पेसा जोगाउन १०/२० हजार रुपियाँ सहयोग गर्नुभन्दा आरनको काम गर्नेको ज्याला निर्धारण, जीवन बिमा, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेर जातीय विभेद हटाउनुपर्छ । यति काम गर्न सके नयाँ पुस्ता आरनको काममा आकर्षित हुन सक्छन् ।”
बैतडीमा दलितको जनसङ्ख्या करिब ५५ हजार हाराहारी रहेको छ । योमध्ये करिब ३० हजार आरनको काम गर्ने विश्वकर्मा परिवारका रहेको सामाजिक अभियन्ता एवं दलित नेता कर्ण दयाल सोराडीले बताउनुभयो । आरन पेसा लोप हुनु विश्वकर्मा समुदायका मात्रै समस्या नभएर यो समाजकै समस्या भएकाले यस पेसाको संरक्षण र आधुनिकीकरणका लागि स्थानीय सरकारले चासो दिनुपर्ने भनाइ उहाँको छ ।