रवीन्द्र उप्रेती
बर्दिबास, वैशाख २८ गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र गठबन्ध दलबीचको सम्बन्धमा समस्या नआउने बताउनुभएको छ । यस काण्डमा संलग्न जोसुकैमाथि कारबाही गर्न सरकार दृढ रहेको उहाँले स्पष्ट पार्नुभयो ।
महोत्तरीको बर्दिबास नगरपालिका कार्यालयमा बिहीबार आयोजित जनप्रतिनिधि, नगर कर्मचारी तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री रिजालले सरकारको नियतमाथि शङ्का नगर्न आग्रह गर्नुभयो ।
गल्ती गर्ने जुनसुकै पद, प्रतिष्ठा, पार्टी, प्रभाव र पारिवारिक घरानाका भए पनि हिरासतमा लिई कारबाही गर्न सरकार दृढ रहेको उहाँको भनाइ छ । भागेर लुकेर बसेकालाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रिय रहेको उहाँले बताउनुभयो ।
‘सरकारले सुशासन दिने हो । सुशासन दिन सरकारले गल्ती गर्नेमाथि कारबाही गर्छ’ उहाँले थप्नुभयो, ‘गल्ती गर्ने सजायको भागी पनि हुन्छ ।’ सञ्चारकर्मीको जिज्ञासमा मन्त्री रिजालले नक्कली भुटानी शरणार्थीमाथिको कारबाहीलाई लिएर सरकार र गठबन्धन दलबीचको सम्बन्धमा कुनै सङ्कट नआउने स्पष्ट पार्नुभयो ।
कुनै पनि दोषीलाई उम्कन नदिन सरकार दृढ रहेको चर्चा गर्नुहुँदै यसले सरकार गठबन्धन दलबीच कटुता बढाउँछ भन्ने हल्ला र भ्रममाथि विश्वास नगर्न उहाँले आग्रह गर्नुभयो ।
यसअघि व्यापारिक प्रयोजनका लागि स्थापना हुने सङ्घीय सरकारको योजनाअन्तर्गत चालु आव २०७९–८० मा बर्दिबास नगरपालिकालाई एक करोड अनुदान उपलब्ध गराउने जानकारीसमेत दिनुभयो । उहाँले समृद्ध र आत्मनिर्भर समाज निर्माणका लागि दक्ष जनशक्ति र स्थानीय सीप कलाको विकास अपरिहार्य रहेको धारणा राख्नुभयो ।नगर प्रमुख प्रह्लाद क्षेत्रीले बर्दिबास नगरको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न अर्थ मन्त्रालयमा सहजीकरणको लागि मन्त्री रिजाललाई आग्रह गर्नुभयो ।