• ४ असार २०८१, मङ्गलबार

शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

बिहीबार नेकपा (एस) का नेता तथा जनवर्गीय संगठनका नेतासँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, वैशाख २८ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ।

बिहीबार आफूसँग भेट गर्न आएका नेकपा (एस) का नेता तथा जनवर्गीय सङ्गठनका नेतासँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभयो।

‘‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्’’, श्रेष्ठले भन्नुभयो। श्रेष्ठले यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गर्नुभयो। अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उहाँको भनाइ छ।

‘‘यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो। यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो’’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘यसको सबै नेक्ससलाई कानुनी कारबाहीको दायरामा ल्याउनेतर्फ हामी अगाडि बढेका छौँ।’’

श्रेष्ठले यो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्नुहुँदै दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने दृढता व्यक्त गर्नुभयो। शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।

‘‘मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन। दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ’’, श्रेष्ठले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ। दोषीलाई कारबाही गरियोस् निर्दोष नपरुन् भन्ने छ सबैको कुरा।’’

सिङ्गो देश भ्रष्टाचार र कमिसनले आक्रान्त बनेको उल्लेख गर्नुहुँदै श्रेष्ठले त्यसबाट मुक्त गराइने बताउनुभयो। प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको उहाँको भनाइ छ। 

‘‘राजनीतिक दबाबको सामना गर्ने म छु", तपाईँहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु’’, श्रेष्ठले भन्नुभयो।

भेटमा नेकपा (एस) का केन्द्रीय सदस्य, जनवर्गीय सङ्गठनका केन्द्रीय नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिनुभएको थियो। यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उहाँहरूले कुनै दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिनुभयो। यो कार्यका लागि जति धन्यवाद र बधाई दिए पनि कम हुने भन्दै उहाँहरूले थप हौसला मिलोस् भनेर आफूहरू भेट्न आएको बताउनुभयो।

नेपाली समाजमा यो राजनीतिक व्यवस्था तथा राजनीतिक नेतृत्वप्रति नै निराशा पैदा भएको बेला सरकारले भ्रष्टाचारविरुद्ध कदम चालेर ऊर्जा दिएको भन्दै यसलाई निष्कर्षमा पुर्‍याउन हिचकिचाउन नहुने उहाँहरूको भनाइ थियो। यो प्रकरणमा सरकारमाथि निकै दबाब आउनसक्ने आशङ्का गर्दै उहाँहरूले दबाब थेग्न सरकार सक्षम भए त्यो देश र जनताका लागि निकै ठूलो काम हुने उहाँहरूको भनाइ छ।

मंगलबार कांग्रेसका युवा नेताले भेटेर यो अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र दबाबका अगाडि नझुक्न श्रेष्ठलाई सुझाव दिनुभएको थियो।