• ८ वैशाख २०८१, शनिबार

तस्बिर प्रदर्शनीको पाँचौँ दिन

बीपी कोइरालाको दुर्लभ तस्बिर प्रदर्शनीमा

blog

गोरखापत्र संस्थानमा प्रदर्शनीमा राखिएका तस्बिर अवलोकन गर्नुहुँदै दर्शक । तस्बिर : कबिता थापा

काठमाडौं, वैशाख २८ गते ।नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) को दुर्लभ तस्बिरले प्रदर्शनीमा आउने धेरैको मन जित्न सफल भएको छ ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् साहित्यकार बीपीको दुर्लभ तस्बिर नयाँ सडकस्थित गोरखापत्र संस्थानमा प्रदर्शनीमा राखिएको छ ।

वि.सं. २०३६ को पुस महिनामा काठमाडौंको विशाल बजार अगाडि आयोजित ‘कालो दिवस’ मनाउने क्रममा सम्बोधन गर्नुहुँदै नेता बीपी कोइराला र साथमा कांग्रेसका अर्का नेता गणेशमान सिंहको दुर्लभ तस्बिर गोरखापत्रले प्रदर्शनीमा राखेको छ ।

वि.सं. २०३० देखि २०६० सम्ममा देशमा भएका घटनाक्रमका मुख्य मुख्य तस्बिर प्रदर्शनीमा छन् ।

प्रदर्शनीमा दशरथ रङ्गशाला दुर्घटनादेखि भारतले लगाएको नाकाबन्दीसम्मका ऐतिहासिक तस्बिरहरू प्रदर्शनका लागि राखिएका छन् ।

प्रदर्शनीमा जननेता मदन भण्डारीले सम्बोधन गर्दै गरेको, उहाँको निधनपछिको शवयात्राका तस्बिर पनि दर्शकको आकर्षणमा रहेका छन् ।

गोरखापत्र फोटोग्राफीका प्रमुख रामप्रसाद हुमागाईँले दैनिक १५० देखि दुई सय जनाले फोटो प्रदर्शनीको अवलोकन गर्ने गरेको जानकारी दिनुभयो ।

यसैगरी, प्रमुख हुमागाईँले तस्बिर हेर्न आउनुहुने दर्शकबाट राम्रो प्रतिक्रिया आएको पनि बताउनुभयो ।

काठमाडौंको डल्लु बस्ने स्थानीय जनकराज जोशीले इतिहास छलङ्ग भयो, अघिल्लो पुस्ताको दुःख र सङ्घर्ष राजनीति आन्दोलन केही हदसम्म महसुस गरिएको प्रतिक्रिया दिनुभएको छ ।

त्यस्तै, राजेश दंगालले ‘‘धेरै राम्रो लाग्यो । अझ यो भन्दा पनि पुरानो फोटो राखेको भए निकै राम्रो हुने थियो । समग्रमा राम्रो छ ।’’

धोविघाटबाट प्रदर्शनी हेर्न आउनुभएका जोग्क्षेन लामाले राजनीतिक, ऐतिहासिक, खेलकुद, मनोरञ्जन गरी विषयगत रूपमा छुट्याएर फोटो राख्नुभएको भए सुनमा सुगन्ध हुने सुझाव दिनुभयो ।

यसैगरी, अर्का अवलोकनकर्ता शंकरमानले प्रदर्शनी धेरै राम्रो लाग्यो । तस्बिरहरूका अलावा गोरखापत्रसम्बन्धी अन्य सामग्री, सिक्का, हुलाक टिकट पनि प्रदर्शनीमा राखिएको भए सुनमाथि सुगन्ध थपिने प्रक्रिया दिनुभएको छ ।

यही वैशाख २४ गते गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा संस्थानको ६१ औँ वार्षिकोत्सवका दिनदेखि सुरु भएको प्रदर्शनी आज (बिहीबार) पाँचौँ दिनमा प्रवेश गरेको छ । गोरखापत्र संस्थानमा फोटो प्रदर्शनी आगामी जेठ ८ गतेसम्म चल्ने छ ।


यो पनि पढ्नुहोस