• १२ मंसिर २०८१, बुधबार

गृह मन्त्रालयअन्तर्गतका निकायमा योग शिविर सञ्चालन गर्छौँ : गृहमन्त्री श्रेष्ठ

blog

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित एपीएफ रङ्गशालामा पतञ्जलि योग पीठद्वारा आयोजित योग विज्ञान शिविरको उद्घाटन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठ । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं, वैशाख २८ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयअन्तर्गत निकायमा नियमित योग शिविर सञ्चालन गर्ने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित एपीएफ रङ्गशालामा बिहीबार पतञ्जलि योग पीठद्वारा आयोजित योग विज्ञान शिविरमा सहभागी हुँदै गृहमन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गतका गृह प्रशासन तथा सुरक्षा निकायहरूमा योग र ध्यानलाई नियमित गर्ने गरी योग शिविर सञ्चालन गर्ने बताउनुभएको हो ।

गृहमन्त्री श्रेष्ठले योगले ध्यानलाई समेत आत्मसाथ गर्ने हुँदा योग र ध्यानलाई एक दुई दिन गर्ने अभ्यासका रूपमा मात्र नलिई जीवनपद्धति तथा जीवन संस्कृतिको रूपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक रूपमा रूपान्तरण गरी आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो प्रभाव तथा परिणाम ल्याउन र मानव स्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो ।

उहाँले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको हुँदै वैज्ञानिक र व्यवहारिक रहेको जसले आत्म अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जिउन प्रेरित गर्ने भनाइ व्यक्त गर्नुभयो ।

कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपाल पूर्व सङ्घका पदाधिकारीहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारीहरू, सशस्त्र प्रहरी बलका अधिकृत लगायत बिल्लादार जवानहरू समेत योग अभ्यासमा सहभागी हुनुभएको थियो ।