रेखीराम राना
पाल्पा, वैशाख २८ गते । जिल्लाका विभिन्न स्थानमा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । स्थानीय जनप्रतिनिधि तथा निर्माण व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको चोरी निकासी बढेको हो । जिल्लाको रामपुर क्षेत्र, तिनाउ, रिब्दीकोट तथा बगनासकाली गाउँपालिकाका विभिन्न स्थानमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको चोरी निकासी बढेको हो ।
बगनासकाली गाउँपालिका–६, यम्घास्थित मचेटाघाटमा अवैध नदीजन्य पदार्थ चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन् । गाउँपालिकाको नेतृत्वले पनि त्यहाँका जनप्रतिनिधिकै मिलेमतोमा ढुङ्गा र बालुवा चोरिएको दाबी गरेको छ ।
अवैध रूपमा चोरी निकासी बढेपछि गाउँपालिकाले अनुगमन तीव्र बनाएको पालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । कालीगण्डकीको घाट क्षेत्रबाट जनप्रतिनिधिकै मिलेमतोमा अवैध रूपमा नदीजन्य पदार्थको चोरी निकासी भएको गुनासोका आधारमा अनुगमन गरेर समन्वय समितिलाई प्रतिवेदन बुझाएको उहाँले बताउनुभयो । बगनासकालीमा कालीगण्डकी नदी क्षेत्रबाट बालुवा र गिट्टी चोरी भएको छ भने नदीनजिकै रहेको जङ्गलबाट ढुङ्गा चोरी भएको जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशवराज खरालले बताउनुभयो । नदीजन्य पदार्थ चोरी गरेर योजनाको काममा प्रयोग गरेको पाइएको खरालले बताउनुभयो ।
बगनासकाली–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले भने नदीजन्य पदार्थ चोरी कार्यमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभयो । यम्घामा स्थानीय र प्रदेश सरकारबाट विभिन्न योजना सञ्चालन भए पनि नदीजन्य पदार्थ चोरी गर्न आफूले सघाएको भन्ने कुरा झुटो रहेको उहाँले बताउनुभयो ।
नदीजन्य पदार्थ पक्की पुल निर्माण भइरहेको क्षेत्र र बगनासकाली बृहत् लिफ्टिङ खानेपानी आयोजना सञ्चालन रहेको क्षेत्रबाटै भइरहेको स्थानीयवासीको भनाइ छ । मुहान तथा पुल रहेको क्षेत्रको पाँच सय मिटर वरपरबाट नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने कानुनी व्यवस्था भए पनि यस क्षेत्रमा मनपरी रूपमा ढुङ्गा, गिट्टी र बालुवा चोरी भइरहेको स्थानीय बासिन्दा शिव अधिकारीले बताउनुभयो ।
यस्तै रामपुरका विभिन्न क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी रोकिएको छैन । रामपुरनजिकै रहेको कालीगण्डकीका विभिन्न घाट तथा किनारबाट नदीजन्य पदार्थ चोरी भइरहेको स्थानीयवासीको भनाइ छ । नदीजन्य पदार्थ रातको समयमा चोरी निकासी भइरहेको र त्यसमा रामपुर नगरपालिकाले कुनै पहल गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।
तिनाउ गाउँपालिकाको राजमार्ग क्षेत्रबाट समेत ढुङ्गा चोरी निकासी भइरहेको छ । सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न सञ्चालित योजना तथा निर्माणको काममा राजमार्ग नजिकैबाट ढुङ्गा चोरी गर्ने काम भइरहेको स्थानीय बासिन्दा कृष्ण पाण्डेयले बताउनुभयो । सिद्धार्थ राजमार्ग निर्माणको नाममा लाखौँ रुपियाँको ढुङ्गा चोरी निकासी भए पनि तिनाउ गाउँपालिकाले चोरी नियन्त्रण गर्न पहल नगरेको उहाँले बताउनुभयो । पाण्डेयले भन्नुभयो, “सिद्धार्थ राजमार्गको क्षेत्राधिकारभित्र पर्ने जग्गाबाट लाखौँ मूल्य पर्ने ढुङ्गा चोरी भइरहेको छ तर पालिकाले नियन्त्रण गर्न पहल गरेको छैन ।”