लक्ष्मण पौडेल
भैरहवा, वैशाख २७ गते । बिहीबारदेखि लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्टप्रति लुम्बिनी क्षेत्रका पर्यटनसम्बद्ध संघ संस्था तथा पर्यटन व्यवसायीले असहमति प्रकट गरेका छन् । उनीहरुले आफूहरुलाई यसबारेमा सूचनासमेत नगरिएको भन्दै आज पत्रकार सम्मेलन गरेर असहमति प्रकट गरेका हुन् ।
पर्यटन सरोकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा लु्म्बिनीमा हुने कार्यक्रममा लुम्बिनी क्षेत्रकै पर्यटन व्यवसायीले सूचना नपाउनु दुर्भाग्य भएको उनीहरुको बुझाइ छ । नेपाल पर्यटन बोर्डको आयोजनामा नाट्टा केन्द्रले संयोजन गरेर बिहीबारदेखि लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट (बीआईटीएम) आयोजना हुँदैछ ।
नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेण्ट (नाट्टा) लुम्बिनीका अध्यक्ष रचना पन्तले लुम्बिनीमा हुन गइरहेको अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम) मा सबै सरोकारवालालाई उपस्थित हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग समय छैन, भोलिदेखि बीआईटीएम हुरु हुँदैछ, हाम्रो पहिलो कर्तव्य लुम्बिनीमा हुने कार्यक्रम सफल पार्नु हो, त्यसपछि अन्य समस्याको विषयमा छलफल गरौंला ।”
आगामी दिनमा पर्यटन बोर्ड, नाट्टा केन्द्रले रुपन्देहीका पर्यटन व्यवसायीको मागलाई सम्बोधन गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा होटल एशोसिएशन अफ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीलाई सूचना नै नगरी समन्वय नै नगरी गर्न थालिएको कार्यक्रमप्रति असहमति प्रकट गर्नुभयो ।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, सोट्टो लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमय, चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिलकुमार ज्ञवालीलगायत विभिन्न पर्यटन क्षेत्रसँग सम्बन्धित संघ–संस्था र निजी क्षेत्रका व्यवसायीले लुम्बिनीमा हुने कार्यक्रम महत्वपूर्ण भए पनि काठमाडौंमा बसेर बनाएको योजना तथा कार्यक्रमले स्थानीय पर्यटन व्यवसायी लाभान्वित हुन नसक्ने बताउनुभयो ।