• १३ मंसिर २०८१, बिहिबार

गठबन्धनका मन्त्री र सांसद एकै ठाउँमा भेला

blog

नेपाली कांग्रेस कास्कीद्वारा गठबन्धनमा रहेका पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : गोरखापत्र

रमेश पौडेल

पोखरा, वैशाख २७ गते । गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममै रहेको अवस्थामा नेपाली कांग्रेस कास्कीले गठबन्धनमा रहेका तीनवटै पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गरेको छ ।

सो भेलामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वभौम जनताको हक र अधिकारलाई कुण्ठित हुन नदिई गण्डकी प्रदेश सरकारले नयाँ ढंगबाट काम गर्ने वाचा गर्नुभयो । उहाँले पार्टी र सरकार बिच हुने गरेका असमझदारीलाई सरकारले गम्भीर रुपमा लिई पार्टीको नीति अनुरुप काम गर्ने बताउनुभयो ।

प्रजातन्त्र सेनानीहरुको उपस्थिति रहेको सो कार्यक्रममा ९० देखि ९५ वर्षका सेनानीहरुले पार्टीका सांसद एवं मन्त्रीहरुलाई शुभकामना मात्र होइन कि जनताको मन छुने गरी लोकतन्त्रको मूल्य र मान्यतामा अडिक रही काम गर्न आर्शिवाद समेत दिएका छन् ।

उहाँले देख्न सक्ने किसिमको बजेट अहिलेको आवश्यकता रहेको बताउँदै यस प्रदेशमा रहेका कृषि र खानेपानी योजनाको लिफ्टीङ्को विद्युत महशुल वर्तमान प्रदेश सरकारले व्यहोर्ने निर्णय गरिसकेको जानकारीसमेत गराउनुभयो ।

नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्री सरस्वती अर्याल, सुशीला सिंखडा र गठबन्धनका सबै सांसदलाई ९५ वर्षीय लिलाभक्त आचार्य र ९० वर्षका मोतीराज भण्डारी र हिरामणी सुवेदीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले राणा र पञ्चायतसँग लड्दै आएको लोकतन्त्रले जनताको हितमा रही काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सिमित, साधन श्रोतको अधिकतम् प्रयोग गरी कृषि र पूर्वाधारमा लगानी बढाई स्वदेशमा रोजगारीका अवसर वृद्धि गर्ने खालको बजेट ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पुरानो पार्टीलाई जनताले खबरदारी गरिरहेको अवस्थामा अबको नयाँ सरकार नयाँ ढंगबाट जानुपर्ने बताउनुभयो । उहाँले जनताले परिणाम खोजेको छ, हाम्रो क्षमताले पुगेसम्म काम गर्नुपर्ने दबाब सिर्जना भएको बताउनुभयो ।

नेता चुमानले कास्की कांग्रेसले गठबन्धनको संस्कार अघि बढाउन प्रदेशका सत्ता पक्षीय ३५ सांसदलाई कार्यक्रममा आमन्त्रित गरी दलीय संस्कारको प्रारम्भ गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टी सभापति किशोरदत्त बरालले पार्टी भित्रका निराशालाई हटाउन पनि सरकारले जनमैत्री योजना ल्याई काम गर्नुपर्ने बताउनुभयो । उहाँले  अबको युग आर्थिक क्रान्तिको युग भएकाले उत्पादनमैत्री बजेट, निजी क्षेत्रको संरक्षण, रोजगारमूलक युवा लक्षितलगायतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । 

गण्डकी प्रदेशमा ६० सदस्यीय रहेपनि कांग्रेस २७, माओवादी (सभामुख सहित) ८, नेकपा एसका १ सहित सत्ता गठबन्धन रहेको छ भने एमालेको २२ र राप्रपा २ प्रतिपक्षमा रहेका छन् ।