• १२ मंसिर २०८१, बुधबार

आदिवासी खेलकुद संघमा भुपेन्द्र

blog

आदिवासी खेलकुद संघका निर्वाचित पदाधिकारीहरु । तस्बिर : राखेप

काठमाडौं, वैशाख २६ गते । आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भुपेन्द्र गुरुङलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेको छ ।

साधारण सभाले भुपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति दुई वर्षका लागि निर्विरोध चयन गरेको छ । नेपाल उमा कुङफु संघका महासचिव समेत रहेका गुरुङ जर्मनी भएको वल्र्ड मार्सल आर्ट्स गेम्स तथा इङल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपका स्वर्ण विजेता हुनुहुन्छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा दिपेन गुरुङले उपाध्यक्ष, सुरेश मगरले सचिव तथा मिनबहादुर गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाउनुभएको छ । सदस्यहरुमा शेरबहादुर गुरुङ, धनबहादुर गुरुङ, जगदीश गुरुङ, रुपकाजी मगर र गुना गुरुङ चयन हुनुभएको छ ।

साधारण सभाले नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापामगरलाई संघको मुख्य प्रशिक्षकमा मनोनित गरेको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बधाइ दिदै प्रमाण पत्र वितरण गर्नुभयो । 

गुरुङ र मगर इङल्यान्ड प्रस्थान

भुपेन्द्र गुरुङ र उद्धव थापा मगर सेल्फ डिफेन्स कोर्स तथा सेमिनारमा सहभागी हुन बुधबार इङल्यान्ड प्रस्थान गर्नुभएको छ । सेमिनार मे १३ र १४ तारिखमा इङल्यान्डको ब्रिडलिङटनमा हुनेछ ।


सेमिनारमा विभिन्न २७ राष्ट्रका ग्रान्ड मास्टर्सको सहभागिता रहने गुरुङले जानकारी दिनुभयो ।  भुपेन्द्र नेपाल उमा कुङफु संघका महासचिव र मगर संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक मुख्य प्रशिक्षक हुनुहुन्छ । 

दुवैले सेमिनारबाट हासिल गरेको ज्ञान अरुलाई सिकाएर व्यवहारमा उतार्ने बताउनुभयो । गुरुङ र मगरलाई बुधबार आदिवासी खेलकुद संघ नेपालका पदाधिकारीले एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।