• २५ पुस २०८१, बिहिबार

मेलम्ची बाढीले क्षतिग्रस्त बस्ती संरक्षण गरिँदै

blog

मेलम्ची बाढीले खण्डहर बनेको मेलम्चीबजार किनारमा अनुगमन र निरीक्षण गर्दे बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ । तस्बिर : चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, बैशाख २७ गते । भेमाथाङ पहाड सोरिएर आएको मेलम्ची बाढीले क्षतिग्रस्त मेलम्ची नगरपालिका –११ का खण्डहर बस्तीहरू संरक्षणका लागि बागमती प्रदेशले काम अघि बढाएको छ । सांसद कृष्णकुमार तामाङ (समीर) ले स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको छ । बाढीले खण्डहर बनेको इलाका प्रहरी कार्यालय मेलम्चीबजार तलदेखि मेलम्ची खानेपानीको साइड कार्यालय मुनिरहेको खण्डहर बस्ती संरक्षणका लागि उहाँले अनुगमन गर्नुभएको हो । 

तत्काल संरक्षण गर्नुपर्ने उक्त क्षेत्रमा आवश्यक तटबन्ध, ग्याबिन, तारजाली, पर्खाल लगायतको भौतिक निर्माण तत्कालदेखि सुरु गर्न सांसद तामाङले सिँचाइ तथा खानेपानी डिभिजन कार्यालय चौताराका प्रमुख थलबहादुर तामाङले निर्देशन दिनुभयो । 

क्षेत्र २ का सांसद मोहनबहादुर बस्नेत र बागमती प्रदेश सांसद तामाङको पहलमा बागमती प्रदेश सरकारबाट खण्डहर मेलम्ची र हेलम्बुको रातोपुल आसपास क्षेत्रमा तटबन्ध, वाल, ग्याबिन, जाली लगाउन १० करोड रुपियाँका काम भइरहेको छ । मेलम्ची र रातोपालमा पाँच–पाँच लाखको प्याकेजमा भइरहेको कामले बाढीपीडितलाई राहत मिलेको छ । 

वर्षाअघि नै सो काम सकेर बाढीपीडितलाई सुरक्षित रूपमा बसोबासको प्रबन्ध मिल्ने सांसद तामाङले बताउनुभयो । बाढीबाट बस्ती र जमिन कटान रोक्न मेलम्ची, रातोपुल क्षेत्रमा नदी गहिराउने र त्यसबाट निस्केका भोल्डार नदी किनारामा साइड, चाङ लगाएर राखिने काम हुँदैछ । त्यसले बाढीको प्रेसर रोक्ने र बस्ती सुरक्षित हुनेछ । 

भे्रमाथाङ बाढीले क्षतिग्रस्त हेलम्बु क्षेत्र, पाँचपोखरी थाङपालका क्षेत्रहरू, मेलम्चीलगायतका अति जोखिममा रहेका बस्तीलाई वर्षाअघि नै सुरक्षित बनाउन तटबन्ध, तारजाली, वाल लगायतका काम थाल्ने तामाङले जानकारी दिनुभयो ।