• ११ जेठ २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : महामन्त्री थापा

blog

प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २७ गते । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको हो । उहाँले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुनुनहुने उल्लेख गर्नुभयो । उहाँले अनुसन्धान स्वतन्त्र र निष्पक्ष रूपमा हुनुपर्ने भन्दै सरकारले यो प्रकरणमा दह्रो खुट्टा टेके मात्र सरकारले सुशासनको नारा लगाउनसक्ने बताउनुभयो ।

‘‘नक्कली भुटानी शरणार्थी प्रकरण यस्तो बेलामा आएको छ कि सरकारले यसलाई कसरी डिल गर्छ, यसैले बाँकी रहेको कुरा निर्धारण गर्छ । अहिलेसम्म जे भएको छ म सरकारको प्रशंसा गर्छु । प्रधानमन्त्री, गृहमन्त्रीलाई यो सन्दर्भमा मेरो तर्फबाट हार्दिक बधाई छ । यसमा हामी सबैको एउटै आवाज छ, संलग्न जोसुकै होस् । जुनसुकै दलको होस् । जुनसुकै तहको होस् । ओहोदाको होस् । कारबाहीको दायरामा ऊ आउनैपर्छ । बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । तर कुनै भेटघाटले पनि प्रभावित नहोस् ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘कुनै दबाबले प्रभावित नहोस् । कुनै प्रभावले कहीँबाट प्रभावित नहोस् । मेरो आग्रह छ, अनुसन्धान फ्रि र फेयर होस् । निर्दोष कोही पनि नपरोस् । तर दोषी छ भने नेता होस् कि, नाता होस् । एउटा पनि नछुटोस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ । तपाईँको फिल्म चल्छ । हाउसफुल हुन्छ । नभए हल खालि हुन्छ । सबैले हेरेको छ, यहाँ अनुसन्धान गरे भनेर मात्र हुँदैन अब । विश्वास लाग्नुपर्छ । नागरिकलाई फ्रि र फेयर भयो भन्ने विश्वास लाग्नुपर्छ ।’’

महामन्त्री थापाले सरकारले गरेको अनुसन्धान नागरिकलाई विश्वास लाग्नेखालको हुनुपर्ने पनि बताउनुभयो ।