• ५ जेठ २०८१, शनिबार

भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त : सांसद विनोद चौधरी

blog

नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरी ।

काठमाडौं, वैशाख २७ गते । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सांसद चौधरीले यस्तो बताउनुभएको हो ।

भ्रष्टाचारका कारण आम नागरिकहरू पीडित बनेको धारणा राख्नुहुँदै सांसद चौधरीले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताउनुभयो । उहाँले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको पनि औँल्याउनुभयो । उहाँले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने भनाइ राख्नुभयो ।

‘‘मुलुकमा भ्रष्टाचार व्याप्त छ, आम मानिसहरू यसबाट साह्रै पीडित छन्, भ्रष्टाचारको कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । भ्रष्टाचार नियन्त्रण गर्नु अहिलेको लागि महत्त्वपूर्ण छ ।,’’ सांसद चौधरीले भन्नुभयो, ‘‘भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भएको छ, विकासका कामहरू रोकिएका छन्, भ्रष्टाचारको आडमा कुरा नमिल्दा अड्किएका छन्, सबैलाई एकै घानमा हाल्नु हुँदैन, यो सबै प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ ।’’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा नपुर्‍याएर र अपराधी भनिएकाहरूलाई पक्राउ गरी कारबाही नगरे विरोधमा उत्रिने बताउनुभयो । उहाँले सरकारले देखाएको पहलकदमी सह्रानीय रहेको उल्लेख गर्नुहुँदै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने भनाइ राख्नुभयो ।

सांसद पराजुलीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा सधैँ आवाज उठाइरहने बताउनुभयो ।