• ७ वैशाख २०८१, शुक्रबार

धान उत्पादनमा वृद्धि तर आयात घटेन

blog

चालु आर्थिक वर्षको नौ महिनामा १३ अर्बको चामल आयात

काठमाडौं, वैशाख २७ गते । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा नेपालमा १३ अर्बको चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार  चालु आर्थिक वर्षको साउन देखि चैत्र सम्म १२ अर्ब ९५ करोड ५ लाख ८१ हजार बराबरको चामल आयात भएको हो  । 

नेपालमा बर्सेनि धान उत्पादन पनि बढेको सरकारी तथ्याङ्क रहँदा आयात घट्नुपर्ने हो । तर, चामल आयातको तथ्याङ्क बर्सेनि बढ्दै गएको छ । सरकारले बर्सेनि चामलको उत्पादन बढ्दै गएको जनाएपनि धान लगाउने क्षेत्रफल घट्दै गइरहेको छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा कृषि खेतीका लागि उपयुक्त रहेको छ । देशको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइको सुविधा पुगेको सरकारी तथ्याङ्क रहेको छ ।

नेपालको प्रमुख खाद्य बाली धान हो । तर नेपाल चामलमा नै आत्मनिर्भर हुन सकेको छैन । सरकारले १५ जिल्लामा धान उत्पादन बृहत् कार्यक्रम गर्दै आएको छ । झापा जिल्लालाई धानको सुपर जोन घोषणा गरिएको छ । 

कतिपय स्थानमा धानबालीको लागि आकाशे पानीको भर पर्नुपर्ने भएका कारण पनि धान उत्पादनमा उपेक्षा गरेअनुसार प्रगति भने हुन सकेको छैन । चालु आर्थिक वर्षमा नेपालमा ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन भएको छ ।  कृषि, पशुपंक्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा चामल आयात २३ अर्ब ४८ करोड ३५ लाख ३८ हजार ३६७ रुपियाँको चामल आयात भएको थियो । यो वर्ष नेपालमा ५१ लाख ३० हजार ६२५ मेट्रिकटन धान उत्पादन भएको थियो । १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।  

आर्थिक वर्ष २०७७/७८ मा  २८ अर्ब ६० करोड ३१ लाख २८ हजार  रुपियाँ बराबरको चामल आयात भएको छ । सो समयमा ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको थियो । जुन समयमा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । 

आर्थिक वर्ष २०७६/७७ मा २१ अर्ब २० करोड ४३ लाख ८३ हजार रुपियाँ बराबरको चामल आयात भएको छ । सो समयमा ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो । जुन बेला १४ लाख ५८ हजार ९१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । 

आर्थिक वर्ष २०७५/७६ मा ३० अर्ब ५८ करोड ४० लाख ७३ हजार रुपियाँ बराबरको चामल आयात भएको छ ।  यो समयमा ५६ लाख १० हजार ११ मेट्रिकटन धान उत्पादन भएको थियो । जुन बेला १४ लाख ९१ हजार ७४४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । 

धानबाली विज्ञ सुशिलराज सुवेदीका अनुसार नेपालमा उत्पादन बढ्नु र चामल आयात नघट्नुको मुख्य कारण उत्पादित धानमै निर्भर रहेको छ ।नेपालमा उत्पादन हुने धानमध्ये ६७ प्रतिशत मध्यम धान रहेको उहाँले बताउनुभयो । तर नेपालमा खपत हुने अधिकांश हिस्सा मसिनो चामलले ओगटेको छ । 

उहाँले भन्नुभयो,“नेपालमा उत्पादित धानमध्ये धेरै हिस्सा मोटो वा मध्यम धानको रहेको छ । जुन ६७ प्रतिशत रहेको छ , तर नेपालमा खानाको लागि अधिकांश हिस्सा मसिनो चामल हो ।” 

हाल नेपालमा उत्पादन भएको मोटो चामल रक्सी बनाउन र गाईबस्तुलाई दिन बढी प्रयोग हुने भएकाले खानाको रूपमा यसलाई प्रयोग नगर्ने गरिएको उहाँको भनाइ छ । 

मिठो खाने प्रचलन बढेकाले पनि चामलको आयात बढेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालीको मुख मिठो मात्र रुचाउने हो । मिठो चामल नेपालमा धेरै उत्पादन हुँदैन । त्यसकारण आयात पनि बढेको छ ।”

एक जना मानिसले औसत १३७ केजी प्रतिवर्ष चामल खाने गरेको तथ्याङ्क रहेको उहाँ बताउनुहुन्छ । अहिले धेरै स्थानमा खेतीयोग्य जमिनमा बस्ती विकास भएकाले चामलको आयात अझ बढ्ने देखिएको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।