• ५ जेठ २०८१, शनिबार

बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव ।

काठमाडौं, वैशाख २६ गते। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ। मंगलबार सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो सुझाव दिनुभएको हो। उहाँले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताउनुभयो। 

अध्यक्ष यादवले उत्पादनमूलक उद्योगलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक सङ्कटको सामना गर्न सकिने बताउनुभयो। उहाँले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नसके केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने उल्लेख गर्नुभयो। 

अध्यक्ष यादवले भन्नुभयो, ‘‘प्राथमिकता हामी कहाँ दिन्छौँ, सबैभन्दा बढी प्राथमिकता अहिले आर्थिक सङ्कट जुन आइरहेको जस्तो देखिन्छ, जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ। त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृषि उत्पादनमा वृद्धि नै हो। कृषिमा आज लगानी गर्नुभयो भने तीन, चार महिनापछि नै नतिजा आउँछ। त्यसपछि उत्पादनमूलक उद्योगलाई सबलीकरण गर्ने, जुन उद्योगले उत्पादन गरिरहेको छ, त्यसको सबलीकरण गर्नुपर्छ। जुन विभिन्न कालखण्डमा अत्यधिक मुनाफामा रहेका उद्योग, कलकारखाना निजीकरण र उदारीकरणका नाममा कौडीका मूल्यमा बेचियो वा प्राइभेट गरिनु आज ती सबै रुग्ण अवस्थामा रहेका छन्। तिनलाई पुनः सञ्चालन गर्ने वीरगञ्ज चिनी काराखाना, कृषि औजार कारखाना, चुरोट कारखाना लगायत कारखाना पुनः सञ्चालन गर्न सकिन्छ। त्यो सञ्चालको नीति निर्माण गरेर अघि बढ्ने हो भने, त्यसले उत्पादन वृद्धि गर्न सकिन्छ। विशेष गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नुपर्छ। त्यसपछि विनियोजित विधेयकमा समावेश बुँदालाई मार्गचित्र स्पष्ट हुन्छ।’’

उहाँले हरित क्रान्ति कार्यक्रम लागू गर्नसके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताउनुभयो।