• १० जेठ २०८१, बिहिबार

मौद्रिक नीति खुकुलो हुने अर्थमन्त्री महतको अपेक्षा

blog

राष्ट्रिय सभाको बैठकमा सहभागी अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २६ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैङ्कले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताउनुभएको छ। मंगलबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता बारेको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो अपेक्षा राखेको बताउनुभएको हो। 

अर्थमन्त्री महतले बैङ्कको ब्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने बताउनुभयो। उहाँले सरकारकोतर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैङ्किङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको बताउनुभयो। उहाँले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

अर्थमन्त्री महतले भन्नुभयो, ‘‘ब्याजदर धेरै छ, ऋण लिएका आहत छन्, कसरी सम्भव छ ? भन्ने प्रश्न पनि छ। अवश्य पनि अहिले राजश्व घटेको छ। अहिले पुँजीगत खर्च कम छ, त्यसले हाम्रो लक्ष्यअनुसारको आर्थिक वृद्धि भएन, अब हाम्रो पुँजीगत खर्चको प्रभाव बढाउनुपर्छ। हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ। उदासीनता छ, अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ। त्यसलाई अन्त्य गर्नुपर्छ।  सरकारकोतर्फबाट पुँजी खर्च भएको छैन, मौद्रिक नीति बैङ्किङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्ने कुरामा पनि समस्या देखिएको छ। मौद्रिक नीतिमार्फत यसको सम्बोधन हुनुपर्छ। यसमा मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ। व्यापारको लागि ऋण लिनेको लागत कम हुन्छ र बिजनेस सम्भव हुन्छ।’’

अर्थमन्त्री महतले आगामी वर्षको बजेट सीमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पार्नुभयो। उहाँले आगामी वर्षको बजेट एउटा वर्ग समूहलाई मात्रै लक्षित गरी नल्याउने प्रतिबद्धता जनाउनुभएको हो। मन्त्री महतले आगामी वर्षको बजेटका लागि श्रोत जुटाउने चुनौती सरकारलाई रहेको समेत बताउनुभएको छ।