• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभाको शून्य समय

नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कारबाही गर्न माग

blog

मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित सांसद । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २६ गते । प्रतिनिधि सभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्नुहुँदै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

मङ्गलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरु माथि छिटोभन्दा छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराउनुभयो ।

सांसद गैरेले यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताउनुभयो ।

‘‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो । देशद्रोही काम हो । त्यसकारणले यस्तो काममा संलग्न मानिसहरुलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ ।,’’ सांसद गैरेले भन्नुभयो, ‘‘कारबाही गरिनु पर्दछ । यतिमात्रै होइन् । हामीले सुनिरहेका छौं कि विभिन्न समाचार माध्यमहरुमा केही व्यक्तिहरु पक्राउ परेका छन् । केही सांसदहरुलाई वारेन्ट गरिएको छ । भागी राख्नु भएको छ । केही सांसद जो नोटिसमा हुनुहुन्छ । उहाँ सदनमै हुनुहुन्छ । सदनमा बोलिराख्नु भएको छ । यो के भएको हो ? म यो सदनमार्फत, सभामुखमार्फत सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ ? छानबिन के भइरहेको छ ? यसमा संलग्न को हुन ? यसमा सरकारले के गरिरहेको छ ?’’

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद तेजुलाल चांधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउन लागि चलखेल भइरहेको उल्लेख गर्नुहुँदै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो । उहाँले यो प्रकरणको निष्पक्ष छानबिन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो ।

सांसद चौधरीले भन्नु भयो, ‘‘गृह मन्त्रालय, जसले देशमा शान्ति सुरक्षा राख्दछ । त्यसको अस्तित्व हेर्दाखेरी भुटानी शरणार्थी बनाएर सो प्रकरणको ठूलो काण्ड भएको छ । त्यही मन्त्रालय अन्तरगत ठूल्ठूला काण्ड हुँदाहुँदै यो काण्ड पनि आएको छ । हिजो, आज पत्रपत्रिकामा, सामाजिक सञ्जालहरुमा व्यापक रुपमा सदनदेखि सडकसम्म शरणार्थी अमेरिका पठाउने सन्दर्भमा अगाडि बढिराखेको छ । म के आग्रह गर्न चाहन्छु भने यो ठगी प्रकरणलाई, यो गिरोहलाई बचाउनका लागि जुन किसिमको अहिले चलखेल चलिराखेको छ । त्यसलाई पनि कडाभन्दा कडा कारबाही गर्न माग गर्न चाहन्छु । यसमा यो वा त्यो, यो समय र त्यो समय नभनिकन निष्पक्ष रुपमा छानविन गरियोस् । र, दोषीलाई कारबाही गरियोस् ।’’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले सो प्रकरणमा देशका ठूल्ठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गर्नु भयो । उहाँले सबै सांसदहरुको सम्पत्ति संसद सचिवालयको वेबसाइटमा तत्काल सार्वजनिक गरी उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिनु माग गर्नु भयो ।

सांसद कार्कीले भन्नुभयो, ‘‘प्रश्न छ–यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहशन स्थल हो ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरु संलग्न भएको कुरा बाहिर आइरहेको छ । प्रहरीद्वारा पक्राउ पूर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ । एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने ? अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई नै, राज्यलाई नै दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने ? सबै सांसदहरुको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस् । करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस् ।’’

सांसद कार्कीले संसद भ्रष्टाचारीहरुलाई जोगाउने प्रहशन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाउनुभयो ।