• ११ मंसिर २०८१, मङ्गलबार

आगो उत्पन्न गराएर भँगेर पूजा

blog

अमरराज नहर्की

तनहुँ, वैशाख २६ गते । सलाई र लाइटर बन्नुअघि हाम्रा पुर्खाले मुढो दाउरामा आगो सल्काएर आगोको संरक्षण गर्दथे । त्यही आगोबाट दाउरा सल्काएर खाना, खाजा बनाउने तथा गाईबस्तुलाई कुँडो पकाउने गर्दथे । अग्राखको मुढो दाउरामा लामो समयसम्म आगो रहिरहने भएकाले धेरैजसोले मुडो दाउराको जोहो गरेर राख्ने गर्दथे । आगो निभ्यो भने छिमेकीको घरबाट कोइला ल्याएर सल्काउँथे यदि निभ्यो भने दुई काठ घर्षण गराएर आगो सल्काउँथे । 

यही पुरानो आगो सल्काउने तरिकाको तनहुँमा रहेका आदिवासी दरै समुदायले संरक्षण गर्दै आइरहेका छन् । हरेक वर्ष वैशाख पूणर््िामाको भोलिपल्ट भँगेर पूजाका दिन परम्परागत नयाँ आगो उत्पन्न गराई भँगेर देवताको पूजापाठ गर्दै आएका छन् । यसै क्रममा शनिबार दरै समुदायले गिदरीको काठबाट आगो निकाल्दै नयाँ पुस्तालाई पुरानो प्रविधि सिकाएका छन् । दरै समुदायले भने गिदरीको काठमा गिदरीकै काठको डन्डी बनाएर डोरीको सहायताले दही मोथेझै मोथेर नयाँ आगो उत्पन्न गराएका हुन् । 

सोही आगोमा विधिपूर्वक पूजा अर्चनासहित भँगेर देवताको पूजापाठ गरी मनाउने गरेको व्यास नगरपालिका–५, ढोडेनीका ८१ वर्षीय सोमबहादुर दरै बताउनुहुन्छ । दरै समुदायका पूजारी यामबहादुर दरैले भँगेर इष्टदेवता भएकाले हरेक नयाँ वर्षमा वैशाख पूर्णिमाको भोलिपल्ट विभिन्न पूजा सामग्री जुटाएर पूजा गर्ने प्रचलन रहेको बताउनुभयो । 

तीन घण्टा मोथेपछि आगो निस्किएको ४५ वर्षीय पुष्प दरैले जानकारी दिनुभयो । यसरी सल्काएको नयाँ आगोलाई दरै समुदायले घरमा लगेर यही आगो सल्लाएर खाना पकाउने प्रचलन गरेको उहाँले जानकारी दिनुभयो । भँगेर पूजापछि कुखुराको भाले काटेर बलि दिने चलन रहेको दरै समुदायका मानिस बताउँछन् । प्रत्येक घरबाट एक भाले लगेर पूजापछि बलि दिने गरेको पुष्प दरै बताउनुहुन्छ ।

आफ्नो जीवनरक्षाका लागि पुरानो ज्ञान हासिल गर्न आवश्यक रहेकाले यस्तो संस्कृतिलाई जर्गेना गर्नुपर्ने घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँकी अध्यक्ष कल्पना गौलीले बताउनुभयो । जङ्गलमा हराइयो भने लहरो प्रयोग गरी दाउरालाई घोटेर आगो निकालेपछि जङ्गली जनावरको आक्रमणबाट जोगिँदै धुवाँका माध्यमबाट समुदायमा जानकारी गराएर जीवनको सुरक्षा गर्न सकिने यो राम्रो परम्परा भएको गौलीले बताउनुभयो ।  व्यास नगरपालिका–५ निवासी अनिल श्रेष्ठले ज्ञान लिनका लागि पूरै समय ध्यान दिएको बताउनुभयो । आफ्नो मौलिक संस्कार र संस्कृतिको संरक्षणका लागि दरै समुदायले निरन्तता दिँदा खुसी लागेको उहाँले बताउनुभयो ।